शहरी विकास मन्त्री मेटमणि चौधरीले पदको दुरुपयोग नगर्ने बताएका छन् ।
सोमवार पदस्थापनपछि प्रतिक्रिया दिँदै उनले आफ्नो क्षमताअनुसार इमान्दार भएर काम गर्ने बताएका हुन् ।यस्तै उनले पहिलो निर्णयका रुपमा प्रस्तावित शहरी नीतिलाई सदर गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
‘यो महत्त्वपूर्ण निर्णय हो, यो नीतिले काठमाडौं प्राधिकरणजस्तै पोखरा, वीरगञ्ज, दाङलगायतमा समेत प्राधिकरण बनाएर आफ्नो शहरलाई सुन्दर बनाउन सहयोग गर्छ भन्ने अपेक्षा लिएको छु,’ उनले भने ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरूले सोमवार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरीले शहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।
त्यसै गरी राज्यमन्त्रीमा हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियुक्त भएका छन् ।