संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ ।
वाइडेन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा जानु एकदिनभित्र यात्रीहरूले कोभिड–१९ सङ्क्रमण नभएको चिकित्सकीय परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने प्रावधानलाई आगामी आइतबारदेखि हटाएको हो ।रोग रोकथाम तथा नियन्त्रण निकायहरूले सङ्क्रमणको निरन्तर अनुगमन गर्ने जनाउँदै अन्तर्राष्ट्रिय यात्राका बेला पेश गर्नुपर्ने ‘कोभिड–१९ नेगेटिभ रिपोर्ट’ को अनिवार्य प्रावधानलाई आइतबार देखि खारेज गरिएको बताएका हुन् । परिस्थिति परिवर्तन भएमा परीक्षणको आवश्यकता पुनः समीक्षा गरिने पनि उनीहरूले बताएका छन् ।कोभिड–१९ विरुद्धको लडाइँमा भएको प्रगतिका कारण प्रतिबन्ध हटाइएको स्वास्थ्यमन्त्री जेभियर बेसेराले बताए । यद्यपि यात्रीहरूले कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
विमान कम्पनी तथा पर्यटन उद्योगहरूले परीक्षणको प्रावधान हटाउन अमेरिकी प्रशासनलाई महिनौँदेखि दबाब दिइरहेका थिए भने यात्रीहरू पनि अन्तर्राष्ट्रिय यात्रा गर्न निरुत्साहित भएका थिए ।