इरानमा १० तले भवन भत्किंदा २९ जनाको मृत्यु, ३८ बेपत्ता

 #अन्तरास्ट्रिय     २०७९, १६ जेष्ठ सोमबार ११:३२     316 जनाले पढ़िसके



Spread the love

अबदान : इरानको दक्षिणपश्चिमी शहर अबदानमा १० तले व्यावसायिक भवन भत्किंदा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ भने ३८ जना बेपत्ता भएका छन्। तस्निम समाचार एजेन्सीले आइतबार एक शीर्ष प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै सो जानकारी दिएको छ।

घटनास्थलको भ्रमणका क्रममा खुजेस्तान प्रान्तका गभर्नर सादेक खलिलियनले पत्रकारहरूसँग २९ जनाको शव फेला परेको बताएका छन्। भवनको बाँकी भाग र आसपासका संरचनाहरू खसेको डरले खोजी कार्य सुस्त र सावधानीपूर्वक अघि बढेकाले भग्नावशेषमुनि फसेका मानिसको यकिन संख्या भने अझै खुल्न सकेको छैन।

इरानले उक्त घटनाका पीडितको सम्झनामा आइतबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको छ। इरानी न्यायपालिकाको मिजान समाचार एजेन्सीले उक्त घटनाका अनुसन्धानका लागि १० जनालाई पक्राउ गरिएको जानकारी दिएको छ।

मेट्रोपोल भनेर चिनिने निर्माणाधीन भवन अबादानको डाउनटाउनको भीडभाड सडकमा अवस्थित थियो जसको वरिपरि व्यावसायिक र मेडिकल कम्प्लेक्स र कार्यालयहरू थिए। सोमबार अचानक भवनको केही भाग भत्किँदा दर्जनौं मानिस भग्नावशेषमुनि फसेका थिए।