उम्मेदवारी फिर्ता लिने वेलासम्म सहकार्यको पहल जारी रहन्छ : देव गुरुङ

 स्थानीय निर्वाचन २०७९     २०७९, १३ बैशाख मंगलवार १५:००     101 जनाले पढ़िसके



Spread the love

सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्तारुढ दलहरूले स्थानीय तह निर्वाचनका लागि आफूखुसी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको बताएका छन्। सत्तारूढ दलहरूबीचको सहमतिविपरीत पनि उम्मेदवारी मनोनयन भएको उल्लेख गर्दै प्रमुख सचेतक गुरुङले त्यसलाई हटाउन पहल भइरहेको बताए।

संवाद डबलीले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रमुख सचेतक गुरुङले मनोनयनमा परेकाहरूबाट सहमतिमा उम्मेदवार कायम गर्न सत्तारूढ दलहरूबीच सहमति नभए पनि प्रतिगमनकारी, संविधानविरोधी शक्तिलाई हाबी हुन नदिन आफूहरू सचेत रहेको बताए। एमालेले प्रतिगमनकारी, पश्चगमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिवादी कांग्रेससँग गठबन्धन बनाउनुपरेको उनको तर्क छ।

‘उम्मेदवारी फिर्ता लिने वेलासम्म छलफल गर्दै लगेर वडास्तरमा पनि सहकार्य गर्न सके हुन्थ्यो भन्ने ढंगले काम गरिराखेका छौँ । कतिपय पालिका र वडास्तरमा दलहरूले आ–आफ्नो दलको नोमिनेसन गराएका छन्,’ उनले भने, ‘संवाद चलाउँदै लगेर नाम फिर्ता लिने वेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास र पहल भइराखेको छ। कथंकदाचित त्यो भएन भने पनि प्रतिगमन र पश्चगामी शक्तिहरूलाई हाबी हुन नदिने गरी हामी अन्य दलसँग सहकार्य गरेर अघि बढ्न तयार छौँ ।’