फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। दोस्रो चरणमा भएको निर्वाचनमा उनले प्रतिस्पर्धी मारिन ले पेनलाई हराएका हुन्।
दक्षिणपन्थी नेताहरुमध्ये अहिलेसम्मकै सबैभन्दा धेरै मत पाउन सफल भए पनि मारिन ले पेनले जित भने हात पार्न सकिनन्। म्याक्रोँले ५८.५५ प्रतिशत भोट पाए भने पेनले ४१.४५ प्रतिशत भोट पाइन्।जितपछि समर्थकहरुलाई सम्बोधन गर्दै म्याक्रोँले अब निर्वाचन सकिएको र आगामी दिनमा सबैको राष्ट्रपति बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रपतिमा पराजित भए पनि पेनले भने आफूले अहिलेसम्मको सबैभन्दा धेरै मत पाएको भन्दै यो आफ्नो जित भएको बताएकी छिन्।
म्याक्रोँको जितमा युरोपेली मुलुकका शीर्ष नेताहरुले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।
फ्रान्सका नागरिकलाई म्याक्रोँलाई जिताउन आग्रह गरेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि म्याक्रोँलाई बधाई दिँदै उनी सच्चा मित्र भएको उल्लेख गरेका छन्।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि समाजिक सञ्जालमार्फत म्याक्रोँलाई बधाई दिएका छन्।
फ्रान्समा यसपटक केवल ७२ प्रतिशत मतदान भएको थियो। यो सन् १९६९ यताकै कम हो।