मलंगवा – नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन अन्तर्गत फागुन २८ गते शनिबार मतदानको मिति तोकिएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सर्लाही जिल्लाको अधिवेशन गराउन खटाएका निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले बुधबार सूचना प्रकाशित गर्दै फागुन २८ गते शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदानकाे कार्यक्रम सार्वजनिक गरेका हुन् । सूचनामा २८ गते पब्लिक माध्यमिक विद्यालय मलंगवालाई नै मतदानस्थल तोकिएको छ ।
यसअघि फागुन २३ गते मतदानको सम्पूर्ण तयारी भइसकेको अवस्थामा पार्टीको संस्थापन र संस्थापन इतर समूहको विवादले साेही दिन दिउँसाे मतदान नै स्थगित भएको थियो । इच्छ्याएको व्यक्तिले मत खसाल्ने, मतपत्रमा उम्मेदवारको नाम अगाडि राख्ने लगायतका विषयमा विवाद भएको थियो ।