खप्तड गोल्डकप : सहिद स्मारक लिग विजेता मछिन्द्र वाग्मती युवा क्लब सँग पराजित

 संवाददाता    २०७८, २४ फाल्गुन मंगलवार २१:४६     460 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई मंगलबार पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै वाग्मती युथ क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।

प्रतियोगितामा वाग्मतीले अप्रत्यासित नतिजा निकाल्ने क्रममा यसअघि न्युरोड टिम एनआरटीलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीबाट नतिजा निकालिएको हो ।

पेनाल्टी सुटआउटमा वाग्मतीका अमर श्रेष्ठ, ईमान घलान, ड्याडी वाम्बा, अनिल रानामगरले गोल गरे । वागमतीका दिवश लिम्बुको प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाइदिएका थिए । मछिन्द्रका कप्तान रञ्जित धिमाल र विमल घर्तीमगरले गोल गरे । विशाल राई र विदेशी खेलाडी ओमाडेज करिमको प्रहार फ्रेमभित्र पर्न सकेन ।

वागमतीका प्रशिक्षक रोहित केसीले लिग विजेता टोलीलाई हराउँन पाउँदा खुसी लागेको बताए । केसीले ठुला क्लबलाई हराउँदा टिमको मनोबल बढेकाले उपाधि जित्ने दाबी गरे ।

आज एकदमै खुसी छौँ । मोफसलका क्लब पनि ‘ए’ डिभिजन लिगका क्लबभन्दा कम छैनन भनेर प्रमाणित गर्न पनि सफल भएका छौँ । पेनाल्टीसम्मै लैजाने हाम्रो रणनिति थयो । त्यसमा हामी सफल भयौँ,’’ वाग्मतमीका प्रशिक्षक केसीले भने, ‘‘नियमित प्रशिक्षण गर्दाको गर्दाको नतिजा निस्कियो । अब हामी उपाधि जित्ने तयारी गर्छौं ।”

म्यान अफ दी म्याच घोषित वाग्मतीका निकोलस फर्नाडेजले १० हजार रुपैयाँ नगद पुरस्कार जिते । वाग्मतीले अब फाइनल प्रवेशका लागि फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले खेलाडीले सतप्रतिशत दिएपनि गोल गर्न नसक्दा पराजित हुनुपरेको बताए । उनले आफूहरूलाई भाग्यले पनि साथ नदिएको बताए ।