ओमिक्रोनपछि युरोपमा कोरोना महामारी अन्त्य हुन सक्छ : डब्लुएचो

 #कोरोना     २०७८, १० माघ सोमबार १३:१४     102 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को युरोप क्षेत्रीय निर्देशक डा. ह्यान्स क्लूले ओमिक्रोनपछि युरोपमा कोरोना महामारी अन्त्य हुन सक्ने सम्भावना रहेको बताएका छन् । आगामी मार्चसम्म ६० प्रतिशत युरोपेली नागरिक ओमिक्रोनबाट संक्रमित हुने सम्भावना रहेको उल्लेख गर्दै उनले युरोपमा छिट्टै महामारी अन्त्य हुन सक्ने बताएका हुन् ।

ओमिक्रोन फैलिइसकेपछि केही समयपछि संक्रमण कम हुने उनले समाचार संस्था एएफपीसँगको कुराकानीमा भनेका छन् । संक्रमणकै कारण ‘वैश्विक प्रतिरक्षा’ वा खोपका कारण बनेको प्रतिरक्षा प्रणालीले महामारी अन्त्यको दिशामा जाने उनको भनाइ छ ।

‘यो वर्षको अन्त्यतिर कोरोना संक्रमण कम हुनेछ, तर फेरि महामारीकै रूपमा फर्किन्छ भन्ने होइन,’ उनले भने । तर कोरोनालाई अहिले नै स्थानिक प्रकोप(इन्डेमिक) का रूपमा लिन भने नहुने उनको चेतावनी छ । ‘यहाँ धेरैले इन्डेमिकको कुरा गरेका छन् । तर भाइरसले हामीलाई धेरै पटक झुक्याएको छ । त्यसैले निकै सावधानी अपनाउनुपर्ने छ,’ उनले भने । त्यस्तै ओक्रिोन छ्यापछ्याप्ती भएसँगै कोरोनाको अर्को भेरिएन्ट पनि देखिन सक्ने उनको चेतावनी छ ।

डब्लूएचओका अनुसार युरोप, मध्य एसियामामा नयाँ केसमध्ये १५ प्रतिशत(जनवरी १८ को तथ्यांकअनुसार) ओमिक्रोन भेटिएको छ । अघिल्लो हप्ता उक्त संख्या ६.३ प्रतिशत थियो ।