सर्लाही — सर्लाहीमा आइतबारबाट कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप दिइने भएको छ । खोपको उपलब्धतासँगै आइतबारबाट पालिकाले तोकेको खोप केन्द्रहरुबाट बुस्टर डोज खोप लगाउन सकिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका २० वटै पालिकामा बुस्टर डोज पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पतालका प्रमुख डा. नवलकिशोर झाले बताए । कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएको छ महिना पुगेका अग्रपंक्तिमा खटिनेलाई तेस्रो मात्रा (बुस्टर डोज) लगाइने छ ।
अन्य सर्वसाधारणको हकमा भने ६० वर्ष पूरा भएकोलाई समेत बुस्टर डोज लगाइने झाले बताए । जोन्सन खोपको बारेमा भने कुनै जानकारी नै नआएको उनको भनाइ छ । ‘आइतबारदेखि हामीले जिल्लाभरी अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज दिँदैछौं, त्यसका लागि खोप पालिकाले तोकेको खोप केन्द्रमा पठाइसकेका छौं,’ उनले भने, ‘ कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएको छ महिना पुगेकालाई मात्र हो, जोन्सनको बारेमा हामीलाई केही पनि जानकारी गराइएको छैन ।’
सर्लाहीमा हालसम्म १८ वर्षभन्दा माथिका ६८ प्रतिशत नागरिकले पहिलो डोज तथा ६२ प्रतिशतले दोस्रो डोज खोप लिइसकेका छन् । त्यस्तै १२ वर्षदेखि १७ वर्ष उमेर समूहका ९९ प्रतिशतले पहिलो डोज खोप लिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।