नयाँ दिल्ली : भारतमा कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढ्दोक्रममा छ। पछिल्लो २४ घन्टामा थप १ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन्। यो आँकडा शनिबारको तुलनामा १२.६ प्रतिशत बढी हो। देशमा सक्रिय संक्रमितको संख्या ७ लाख नाघेको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अनुसार एकै सातामा देशमा कोरोना संक्रमितको संख्या ६ गुणाले बढेको छ । २८ डिसेम्बरदेखि ३ जनवरीका बीच कोरोनाका १ लाख २९ हजार नयाँ केस थपिएका थिए। ४ जनवरीदेखि १० जनवरीसम्म ७ लाख ८४ हजार बढी कोरोनाका नयाँ केस देखिएका थिए।
हाल संक्रमितसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। २८ डिसेम्बरदेखि ३ जनवरीसम्म १ हजार ८९६ जनाले कोरोनाबाट ज्यान गुमाए। यस्तै कोरोनाकै कारणले ४ जनवरीदेखि १० जनवरीसम्म २ हजार ४३ जनाको मृत्यु भएको छ।
भारतमा कोरोना भाइरससँगसँगै नयाँ भेरियन्ट ओमिक्रोन पनि तीव्ररुपमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा ४१० जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।
यो सहित भारतमा ओमिक्रोन संक्रमितको संख्या ४ हजार ३३ पुगेको छ।