काठमाडौं । न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । अन्य ३२ जना घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको न्यूयोर्कका मेयर एरिक एडम्सले बताएका छन् ।
अग्नि नियन्त्रण विभागका ड्यानियल निग्रोले १९ तले उक्त भवनका हरेक तलामा घाइतेहरुलाई फेला पारेको र त्यहाँ अत्यधिक धुँवा भएको बताएका छन् । समाचार एजेन्सी एनबीसी न्यूजसँग उनले भनेका छन्, आगलागीबाट न्यूयोर्कमा भएको यो मृत्यु ३० वर्षयताकै सबैभन्दा खराब हो ।फिलाडेल्फियाको एउटा अपार्टमेन्टमा आगलागी भएर आठ बालबालिकासहित १२ जनाको ज्यान गएको केही दिनमै न्यूयोर्कमा यो घटना भएको हो ।स्थानीय समय अनुसार आइतबार राति ११ बजे ब्रोन्क्स अपार्टमेन्टको दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो । तर त्यसको धुँवा सबै तलामा फैलिएको पाइएको छ ।करेन्ट सट भएर आगलागी भएको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।आगो निभाउनका लागि दुई सय जना अग्नि नियन्त्रकहरु परिचालन गरिएको थियो ।