पाकिस्तानमा भारी हिमपात हुँदा २२ जनाको मृत्यु

 संवाददाता    २०७८, २५ पुष आईतवार ०९:१५     433 जनाले पढ़िसके



Spread the love

पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ। राजधानी इस्लामावाददेखि उत्तरीक्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो। हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन्।

मृत्यु हुनेमा एक प्रहरी, उनकी श्रीमती र उनीहरुका ६ सन्तान तथा अर्काे पाँच जनाको परिवारसमेत छन्। हिउँका कारण अवरुद्ध सडक पन्छाउन र हिउँमा फसेका व्यक्तिहरुको उद्दारमा सेना खटिएको छ।

सो क्षेत्रमा ठूलो संख्यामा एकै पटक मानिसहरु भ्रमण गर्दा संकट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन्।

पछिल्लो समयमा सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए भने सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बीर र भिडियो भाइरल भएका थिए।

हिउँका कारण सयौं पर्यटकहरु अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको छ।एजेन्सी