न्युजिल्याण्डमाथि बंगलादेशको शानदार जित, सिरिजमा १-० को अग्रता

 संवाददाता    २०७८, २१ पुष बुधबार ०७:५६     87 जनाले पढ़िसके



Spread the love

न्युजिल्याण्डसँगको टेस्ट सिरिजको पहिलो खेलमा पाहुना टोली बंगलादेश ८ विकेटले विजयी भएको छ । टेस्ट क्रिकेट इतिहासमा न्युजिल्याण्डविरुद्ध बंगलादेश पहिलोपटक विजयी भएको हो ।

आज बिहान न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले २ विकेट गुमाएर भेट्टायो । उसका लागि नजिमुल हुसेन शान्तोले १७, कप्तान मोमिनुल हकले अविजित १३, मुस्फिकुर रहिमले पाँच र शादमान इस्लामले तीन रनको योगदान दिए । बलिङमा कायल जेमिसन र टिम साउथीले एक/एक विकेट लिए ।

यसअघि पहिलो इनिङ्समा न्युजिल्याण्डले ३२८ रन बनाएको थियो । उसका लागि डेभन कन्वेले शतकीय पारी खेले । उन २२७ बलमा १६ चौका र एक छक्कासहित १२२ रन बनाए ।

त्यस्तै, हेनरी निकोलसले ७५ र विल योङले ५२ रनको योगदान दिए । बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन । बलिङमा बंगलादेशका शोरिफुल स्लाम र मेहदी हसन मिराजले सर्वाधिक तीन/तीन विकेट लिए ।

जवाफमा बंगलादेशले ४५८ रन बनाएर अग्रता लिन सफल भएको थियो । उसका लागि मोमिनुल हकले ८८, लिटन दासले ८६, महमुदुल हसन जोयले ७८, नजमुल हुसेन शान्तोले ६४ र मेहदी हसन मिराजले ४७ रन बनाए ।

बलिङमा ट्रेन्ट बोल्टले चार, नील वाग्नरले तीन, टिम साउथीले दुई र कायल जेमिसनले विकेट लिए । दोस्रो इनिङ्समा न्युजिल्याण्ड १६९ रनमै अलआउट हुन पुग्यो । उसका लागि विल योङले सर्वाधिक ६९ र रोस टेलरले ४० रन बनाए । बाँकी ब्याटरको प्रदर्शन सम्झनलायक रहन सकेन ।

न्युजिल्याण्डलाई सस्तैमा समेट्न बंगलादेशका इबादोत हुसेन एक्लैले ६ विकेट लिए । त्यस्तै, तस्किन अहमदले तीन र मेहदीहसन मिराजले एक विकेट हात पारे । यो जितसँगै दुई खेलमा सिरिजमा बंगलादेशले १–० को अग्रता बनाएको छ । यी दुई टोलीबीचको दोस्रो टेस्ट आइतबारदेखि सुरु हुनेछ ।