यसअघिको सहमति पूरा नभएको भन्दै अगुवा रुबी खान लगायतका महिलाहरूले दोस्रो चरणको आन्दोलनअन्तर्गत ४१ दिनदेखि धर्ना र मंगलबार बिहानदेखि आमरण अनशन सुरु गरेका थिए । उनीहरूको आन्दोलनमा डा. गोविन्द केसी, नारायण वाग्ले, मोहना अन्सारी, सञ्जीव उप्रेतीसहित नागरिक अगुवाहरूले साथ दिएका थिए । दुईपक्षबीच भएको वार्ताको क्रममा ४ बुँदे सहमति भएको थियो ।
सहमतिपछि मंगलबार साँझ नागरिक आन्दोलनका अगुवा डा गोविन्द केसीले रुबी खानलाई जुस पिलाएर आन्दोलन स्थगित भएको घोषणा गरिएको हो। यस क्रममा गृह मन्त्रालयको तर्फबाट सहसचिव मुकुन्द प्रसाद निरौला, सहसचिव प्रदीपकुमार कोइराला, सहसचिव भीष्मकुमार भुसाल, सुरक्षा तथा प्रशासन विज्ञ सुनिल खनाल, उपसचिव दीलकुमार तामाङ र उपसचिव बसन्त भट्टराई उपस्थित थिए ।
यस्तै आन्दोलनरत पक्षको तर्फबाट रुबी खान, नागरिक समाज, डा गोविन्द केसी, अधिकारकर्मी मोहना अन्सारी, अधिवक्ता ओमप्रकाश अर्याल, बिमल अर्याल, मन कुमार भु्तेल, कौशिला वागवान, गीता चमार र बसन्त रन्जितकारले हस्ताक्षर गरेका छन् । दुई पक्षबीच भएको ४ बुँदे सहमति यस्ता छन् ।
यस्ता छन् ४ बुँदे सहमति
१. निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी जाहेरीमा औंल्याइएका विषयमा केन्द्रीय अनुसन्धान ब्यूरो मार्फत् अनुसन्धान गर्ने गरी प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा पत्राचार गर्ने सहमति गरियो ।
२. यस विषयमा निर्मला कुर्कीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धमा जाहेरवाला, साक्षी आन्दोलनरत व्यक्तिहरू समेतलाई अभियुक्तहरूको तर्फबाट धाकधम्की, प्रलोभन आएको भन्ने विषयहरू छलफलमा उठान भएकोले निजहरूको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायहरूलाई गृह मन्त्रालयले निर्देशन दिने सहमति गरियो ।
३. यस सम्बन्धमा भएको छानबिन प्रतिवेदनमा औंल्याइउका विषयहरू कार्यान्वयन गर्न सम्बन्धित निकायहरूमा पत्राचार गर्ने, यसअघि भएका पत्राचार, कारबाहीका विषयमा प्रगति विवरण प्राप्त गर्ने, कार्यान्वयनका लागि ‘फलोअप’ गर्ने सहअमति गरियो ।
४. उल्लेखित विषयलाई लिए र आमरण अनशनमा रहेकी रुबी खानले आजकै मितिबाट अनशन तोड्ने, निजसहितका आन्दोलनरत व्यक्तिहरूले धर्नासहितका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने सहमति गरियो ।
