धरान छुट्टै विशेषता बोकेको सहर : प्रधानमन्त्री देउवा

 संवाददाता    २०७८, २० पुष मंगलवार २०:४६     95 जनाले पढ़िसके



Spread the love

सुनसरी – प्रधानमन्त्री शेरबहादुर देउवाले धरान आफ्नै पहिचान र छुट्टै विशिष्टता भएको सहर भएको बताएका छन। आज मङ्गलवार धरान सहर एक सय २१ औँ वर्ष पुगेको अवसरमा धरान उपमहानगरपालिकाले आयोजना गरेको ‘धरान दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रम देउवाले शिक्षा, स्वास्थ्य तथा धार्मिक क्षेत्रमा धरानको आफ्नै पहिचान भएको बताए।

आफ्नै विशिष्टताका कारण धरानले आफ्नो एक सय २१ औँ उत्सव मनाउन पाएको भन्दै उनले धरानको समग्र विकासका लागि सरकार सकारात्मक रहेको बताए।

प्रधानमन्त्री देउवाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको समस्याबारे सरकारले अध्ययन गरिरहेको र चाँडै निकास निकाल्ने बताए । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रतिष्ठान सुधारमा सरकार लागिपरेको बताए। उनले धरानलाई शिक्षा र स्वास्थ्यको ‘हब’ बनाइने बताए।

नेपाली कांग्रेसको सभापतिसमेत रहेका उनले पार्टीलाई एक ढिक्का बनाउन आवश्यक रहेको बताए। पार्टीका नेता तथा कार्यकर्ता एक भएर अगाडि बढेमा मात्र पार्टीमा एकता कायम हुने उनको भनाइ थियो ।

सांसद जयकुमार राईले प्रधानमन्त्रीलाई धरानमा खानेपानी र बेरोजगारी समस्याका कारण व्यापारी, उद्योगी बसाइँ सरेको जानकारी गराएका थिए । उनले धरानको ऐतिहासिकतालाई जोगाउन समग्र विकासमा बजेट विनियोजन गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए ।

त्यसैगरी प्रधानमन्त्री देउवाले सुनसरीको धरान–६ मा भेन्टर वेभ टु इनर्जी कम्पनीको झन्डै २६ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको फोहर व्यवस्थापन केन्द्रको उद्घाटन गरे ।

याे कम्पनीले निर्माण गर्न लागेको फोहर व्यवस्थापन केन्द्रबाट धरान उपमहानगरपालिकामा हुने फोहरलाई प्रशोधन गरेर ग्यास उत्पादन गर्ने र उत्पादित ग्यास उपभोक्तालाई बिक्री–वितरण गर्ने तयारी रहेको छ । बीस वर्षपछि याे प्रशोधन केन्द्र उपमहानगरपालिकालाई कम्पनीले हस्तान्त्रण गर्नेछ ।

त्यसैगरी प्रधानमन्त्री देउवाले धरान–२ मा रहेको नेपाली काङ्ग्रेस नगर पार्टी कार्यालयको समेत उद्घाटन गरेका थिए ।