शनिबार हाइटीको स्वतन्त्रताको वर्षगाँठको अवसरमा एक कार्यक्रमका बेला बन्दुकधारीले देशका प्रधानमन्त्री एरियल हेनरीको हत्याको कोसिस गरेका छन् ।हाइटीका अधिकारीले यसबारे जानकारी दिएका हुन् ।हेनरीको उत्तर शहर गोनावेसस्थित एक चर्च समारोहमा भाग लिइरहेका थिए ।
सार्वजनिक भिडियोमा प्रधानमन्त्री र उनको खलको कार तीब्र गोलीबारीबीच बचेर निस्किएको देखिएको छ ।
अघिल्लो वर्ष जुलाईमा राष्ट्रपति जोवेनेल मोसेको हत्यापछि देशमा सुरक्षाको स्थिति बिग्रदैँ गइरहेको छ ।

हालै प्रधानमन्त्री हेनरीले देशमा अपहरण गर्नेहरु र देशभरी ग्यास वितरणमा अधिकांश हिस्सामा नियन्त्रण गर्ने शक्तिशाली गिरोहमाथि कडा कारवाही गर्ने संकल्प लिएका थिए । ग्यास वितरणको हिस्सामा कब्जाका कारण हाइटी इन्धनको गम्भीर कमीसँग जुधिरहेको छ ।
प्रधानमन्त्री कार्यालयले हत्याको कोसिसको पछाडि लुटेरा र आतंकवादी भएको र संदिग्धलाई पक्राउ पुर्जी जारी गरिरहेको जानकारी दिएको छ ।
समाचार एजेन्सी असोसिएटेड प्रेसका अनुसार प्रधानमन्त्रीमाथि हमला गर्ने समूह पर्दाको पछाडि लुकेर काम गर्ने र उनीहरुले चर्चका पादरीलाई धम्काएको र चर्चलाई चारैतिरबाट घेरेका थिए ।
स्थानीय मिडियालाई उद्धृत गर्दै हमलाकर्ता र सुरक्षाबलबीच भएको यो मुठभेडमा एक व्यक्तिको मृत्यु भएको र दुईजना घाइते भएको बताइएको छ ।