लक्षित समुहहरुलाई कोरोना खोपको अतिरिक्त डोज दिने स्वास्थ्य मन्त्रालयको निर्णय

 संवाददाता    २०७८, १५ पुष बिहीबार १५:४६     102 जनाले पढ़िसके



Spread the love

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारोनाभाइरस विरुद्धको खोपको ‘अतिरिक्त डोज’ दिने निर्णय गरेको छ।

राष्ट्रिय खोप सल्लाहरकार समितिले गरेको सिफारिशका आधारमा सरकारले निश्चित समूहमा खोपको अतिरिक्त डोज दिने निर्णय गरेको हो। समितिले ६० वर्षभन्दा माथि र दीर्घरोग भएका व्यक्तिलाई अतिरिक्त डोज दिन सिफारिश गरेको थियो।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले खोपको अतिरिक्त डोज दिने निर्णय भएको जानकारी दिए। उनका अनुसार ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएको र खोप लगाउँदा पनि एन्टिबडी नबनेका व्यक्तिहरू जोखिममा रहेको हुँदा अतिरिक्त डोज दिन लागिएको हो।

अहिले क्यान्सर, उच्च रक्तचाप, मधुमेह, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा ६० वर्ष माथिका वृद्धवृद्धालाई खोप दिने तयारी गरिएको उनले बताए। “यस्ता व्यक्तिहरूमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले चाँडो खोप लगाउन जरुरी छ,” डा. अधिकारीले भने।

यसका जिल्ला स्वास्थ्य कार्यालयहरूसँग समन्वय भइरहेको उनले बताए। “खोप लगाउने तयारी तीव्र रुपमा भइरहेको छ,” उनले भने, “जिल्ला स्वास्थ्य कार्यालयहरूसँग समन्वय गरी भेरोसेल, कोभिशिल्ड र अस्ट्राजेनिका खोप लगाउने तयारी गरिएको छ।”

अतिरिक्त डोज दिने मिति तोक्न भने बाँकी छ। चाडै नै अतिरिक्त डोज दिने तयारी गरिएको प्रवक्ता डा. अधिकारीले बताए।

यसअघि स्वास्थ्य मन्त्रालयले ‘बुस्टर डोज’ लगाउने बताएको थियो। बुस्टर डोज दिनुअघि विशेष समूहका व्यक्तिलाई खोपकाे अतिरिक्त डोज दिन लागिएको हो। बुस्टर डोज भने सबैलाई दिइनेछ।