प्रहरीको गाडीको ठक्करबाट व्यवसायीको मृत्युपछि आक्रोशित समूहद्वारा आगजनी

 संवाददाता    २०७८, १२ पुष सोमबार २१:३४     91 जनाले पढ़िसके



Spread the love

सर्लाही — सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले सोमबार प्रहरीको जिपमा आगजनी गरेको छ ।

आक्रोशित समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखिएको बा १ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगो लगाएका हुन् ।

सर्लाहीको ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको टोली चढेको भ्यानको ठक्करबाट आइतबार राति ईश्वरपुर–५ का २५ वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।

उक्त विषयलाई लिएर सोमबार प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । बयलबास बजारमा व्यापार गर्दैआएका महतोको मृत्युपछि उद्योग वाणिज्य संघ ईश्वरपुरले सोमबार दिनभर बजार बन्द गराएको थियो । महतोले बयलबास बजारमा फेन्सी पसल सञ्चालन गर्दैआएका थिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो । स्थानीयले इलाका प्रहरी कार्यालय केशरगञ्जमा ढुङ्गामुढा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते महतोको उपचारका क्रममा मलङ्गवा अस्पतालमा मृत्यु भएको थियो।