परीक्षणका क्रममा सोलुखोला जलविद्युत्‌मा दुर्घटना : दुई इन्जिनियरको मृत्यु, एक घाइते

 #दुर्घटना     २०७८, १२ पुष सोमबार १०:३७     535 जनाले पढ़िसके



Spread the love

सोलुखुम्बु — सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ । सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको छ भने परियोजना व्यवस्थापक गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको हो ।

घटनामा परी जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको उक्त परियोजना निर्माणको जिम्मा पाएको सिई कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर गंगेश कर्णले बताए । ‘इन्जिनियरको टिम दिनभरि नै परीक्षणको क्रममा थियो । पानीको प्रेसर नमिलिरहेको बेला पाइपको वेल्डिङ छुटिएपछि दुर्घटना भयो,’ म्यानेजर कर्णले भने ।

पाइपको विस्फोटन लगत्तै बेहोस भएका रेग्मी र थापालाई उपचारका लागि ओखलढुंगा अस्पताल लगिएको थियो । अस्पताल पुऱ्याउनासाथ चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए ।