कांग्रेस सहमहामन्त्री : बाँकी ५ जना टुंगो लगाउन मतगणना सुरु, को-को छन् प्रतिस्पर्धामा?

 #कांग्रेस महाधिवेशन     २०७८, २ पुष शुक्रबार १०:४८     88 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको सहमहामन्त्रीतर्फ बाँकी उम्मेदवारहरूको मतगणना तयारी गरिँदै छ। कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आठ सहमहामन्त्रीका उम्मेदवारमध्ये बिहीबार ३ जनाको नतिजा सार्वजनकि भइसकेको छ। बाँकी पाँच क्लस्टरको मतगणना केही बेरमा सुरु गर्ने तयारी भइरहेको कांग्रेसको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। ‘म मतगणनास्थल (सानेपा) जाँदै छु, अरू कतिपय साथी पुगिसक्नुभएको छ’, शुक्रबार बिहान श्रेष्ठले नेपालखबरले बताए, ‘अब केही बेरमा मतगणना थाल्छौं।’ बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस–आर्यतर्फका सहमहामन्त्रीको मत गणना गर्न लागिएकाे उनले बताए।जसअन्तर्गत खसआर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे, मधेसीतर्फ महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव, मुस्लिमतर्फ फमुल्लाह मन्सुर र शेख वकिल, थारूतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी तथा पिछडिएको क्षेत्रतर्फ चेतराज बजाल, जीवनबहादुर शाही र बद्री पाण्डे प्रतिस्पर्धामा छन्। यी प्रत्येक क्लस्टरबाट एक/एक जना सहमहामन्त्री चुनिनेछन्।

यसअघि महिला, दलित र आदिवासी जनजाति क्लस्टरबाट एक एक जना सहमहामन्त्री निर्वाचनबाट छानिइसकेका छन्।बिहीबार राति सार्वजनिक नजिताअनुसार महिलातर्फ महालक्ष्मी ‘डिना’ उपाध्याय, आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे र दलिततर्फ जीवन परियार विजयी भइसकेका हुन्। अघिल्ला दुई जना देउवा र पछिल्ला एक जना शेखर समूहका हुन्।सहमहामन्त्रीकोे टुंगोपछि कांग्रेसमा केन्द्रीय सदस्यको मत गणना सुरु हुनेछ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म कांग्रेस केन्द्रीय कार्यसमितिका १३४ पदका लागि गत सोमबार काठमाडौंस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान गरिएको थियो। सुरुको निर्वाचनमा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवाले सबैभन्दा बढी मत ल्याए पनि कांग्रेसको विधानबमोजिम कसैको मत ५१ प्रतिशत नपुगेपछि मंगलबार पुनः मतदान गरिएको थियो। त्यसमा शेखर कोइरालालाई हराउँदै दोस्रो कार्यकालका लागि पनि देउवा कांग्रेस सभापति हुन सफल भएका हुन्।

अन्य पदका मतगणना भने सोमबार भएकै चुनावको हो। सोमबारको मतदानमा ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ मतदाताले मतदान गरेका थिए। सभापतिको मतगणना मात्र राष्ट्रिय सभागृहमा गरिएको थियो, बाँकी सबै पदको मतगणनाको व्यवस्था कांग्रेस केन्द्रीय कार्यालय (सानेपा) मा गरिएको हो।कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचनबाट चुन्ने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था कांग्रेस विधानमा छ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ। यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ।