काठमाण्डौ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन ।
उपसभापतिका ७ उम्मेदवारमध्ये खड्काले २ हजार १२१ र गुरुङले १ हजार ९०८ मत प्राप्त गर्दै विजयी भएका हुन। उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदारले १ हजार ९०६ मत प्राप्त गरे ।
बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ । देउवा पक्षका उम्मेदवार गच्छदार दुई मतान्तरले पराजित भए ।
यस्तै उपसभापतिका अर्का उम्मेदवार चन्द्र भण्डारीले १ हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।
सोमबार भएको मतदानमा उपसभापति पदका लागि ४ हजार ६ सय ८९ मत खसेको थियो ।
सभापतिमा शेरबहादुर देउवा निर्वाचित भैसकेका छन । महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ ।