काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भएको निर्वाचनअन्तर्गत सभापति पदको मतगणना शुरु भएको छ ।
राती साढे ११ बजे मतदान सकिएपनि मुचुल्का, मतगणनास्थलमा सीसीटीभी जडान, आचारसंहिता निर्माणलगायत काममा समय लागेपछि बल्ल मतगणना शुरु भएको हो ।
निर्वाचन समितिले राती १ बजेदेखि नै गणना शुरु गर्ने तयारी गरेको थियो । मतगणनाको परिणाम ३ घण्टाभित्रमा आउने सम्भावना रहेको निर्वाचन समितिले जनाएको छ ।
पहिलो चरणमा बहुमत प्राप्त गर्न सभापतिमाका पाँचजनामध्ये कुनै एक उम्मेदवारले कम्तिमा २ हजार ३४० मत ल्याउनुपर्नेछ । आजको मतदानमा ४ हजार ७४३ मतदातामध्ये जम्मा ४६ सय ८१ मत खसेकोमा त्यसको ५० प्रतिशत मत ल्याउनै पर्ने विधान छ । कुनैपनि उम्मेदवारले खसेको मतको कम्तिमा ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके सबैभन्दा बढी भोट ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।