काठमाडौं : संस्थापन पक्षबाट प्रदीप पौडेल महामन्त्रीको उम्मेद्वार बनाउने तयारी भएपछि असन्तुष्टि बढेको छ। सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षबीच भएको सहमतिमा सिटौला निकट नेता पौडेललाई महामन्त्रीमा उम्मेद्वारी बनाउने तयारी भएको छ। यो निर्णय भएसँगै देउवा पक्षबाट महामन्त्रीको उम्मेद्वार बन्न लागेका नेताहरु असन्तुष्ट बनेका हुन्।
कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला र प्रदेश अधिवेशनमा देउवा-सिटौलापक्ष एउटै प्यानल बनाएर अगाडि बढेका थिए। ‘लामो समयदेखि देउवाको पक्षमा रहेका नेताहरुले महामन्त्रीको दाबी गरिरहनुभएको छ।’देउवा निकट एक नेताले अन्नपूर्णसँग भने, ‘पार्टीमा महत्वपूर्ण भूमिका खेलिरहेका नेताहरुलाई पन्छाएर, जुनियर नेतालाई महामन्त्रीमा उम्मेद्वार बनाएको सह्य हुँदैन।’
उद्घाटन सत्रमा नै सिटौलाले पार्टीलाई युवापुस्तामा हस्तान्तरण गर्ने बेला भएको बताएका थिए। सिटौलाले युवा नेता पौडेललाई अघि सार्दै मत दिन समेत आग्रह गरेका थिए।