नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गराएका हुन् ।दासको प्रस्तावकमा शिवप्रसाद हुमागाईं र समर्थकमा कुन्दनराज काफ्ले छन् भने केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र समर्थकमा कृष्ण बानियाँ सबुज छन् । बानियाँको प्रस्तावकमा तिर्थ लामा र समर्थकमा दुर्लभ थापा छन् । बानियाँ र केसीले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् भने प्रधानको प्यानलमा पदाधिकारीले मात्र उम्मेदवारी दिएको निर्वाचन समितिका सदस्य रामप्रसाद अधिकारीले जानकारी दिए । बानियाँको प्यानलबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै केसी समूहबाट उपसभापतिमा मोहन बहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा रामचन्द्र अर्याल माइकल र कञ्चनचन्द्र बादे, सहमहामन्त्रीमा दिलबहादुर तामाङ, ऋषिराम घिमिरे र जीवन डंगोलले उम्मेदवारी दिएका छन् ।