नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको तयारी सकिएको छ । आज शुक्रवारदेखि चितवनको नारायणगढमा महाधिवेशन शुरू हुँदैछ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुनेछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ ।
एमालेले महाधिवेशनलाई अत्याधुनिक प्रविधिमार्फत थप भव्य बनाइएको जनाएको छ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम तय गरिएको एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
मंसिर १०–१२ गतेसम्म गरी ३ दिन हुने महाधिवेशनमा देशभरबाट नेता कार्यकर्ता जम्मा हुने क्रम जारी छ । महाधिवेशनमा सहभागी हुन र अवलोकन गर्न देशभरबाट झण्डै ५ लाख नेता/कार्यकर्ता शुक्रवारसम्म चितवन आइपुग्ने नेकपा एमालेले जानकारी दिएको छ ।
महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश नेताहरू बिहीवार नै चितवन आइपुगेका छन् ।
बन्दसत्रमा २ हजार १७५ प्रतिनिधि सहभागी हँुदैछन् । कार्यक्रमको उद्घाटन हुने नारायणी नदी किनारमा मञ्च सहितका सबै संरचना तयार भएका छन् । ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ । चितवनका प्रत्येक घरमा निमन्त्रणापत्र पठाइएको एमालेले जनाएको छ । नारायणी नदीको नारायणगढ तर्फको किनारामा मात्रै सहभागी नअट्ने भएकाले नवलपरासीको गैंडाकोटतर्फको किनारामा पनि बस्ने व्यवस्था मिलाइएको छ ।
महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचनको कार्यतालिकासमेत सार्वजनिक गरिएको छ । एमालेले महाधिवेशनमा प्यानल बनाए कारबाही गर्ने बताउँदै पर्चा पम्प्लेटमा भने बन्देज लगाएको छ । मतदानका लागि १०० वटा विद्युतीय मतदान मेशिन प्रयोग गरिने भएको छ । सुरक्षाका लागि प्रशासनले १ हजार ५०० सुरक्षाकर्मी परिचालन गर्दैछ । नारायणगढ बजार क्षेत्रमा मालबाहक सवारीसाधन आवतजावतमा रोक लगाइए पनि आत्यावश्यक सवारीसाधन चल्न पाउने व्यवस्था गरिएको छ ।
नारायणगढ बजार क्षेत्रमा एमालेको चुनाव चिह्न सूर्य र कम्युनिस्ट पार्टीको हँसियाहथौडा अंकित झण्डा र ब्यानर सजाएर बजारलाई झकिझकाउ र सुन्दर बनाइएको छ । अत्यावश्यक गाडी नरोकिने महाधिवेशन उद्घाटन क्रममा चितवनमा यात्रुलाई सहज हुने गरी ट्राफिक व्यवस्थापन मिलाइएको स्थानीय प्रशासनले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा मालबाहक गाडी सञ्चालनमा रोक लगाइनेछ ।
नारायणगढ र भरतपुरका मुख्य शहरी क्षेत्रमा अत्यावश्यक गाडी नरोकिने र अरू गाडीका लागि वैकल्पिक बाटोको व्यवस्थापन मिलाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट ओहोरदोहोर गर्ने बसलाई वैकल्पिक बाटोको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । पूर्वबाट चितवन हुँदै गुड्ने गाडीलाई बाइपास रोड खुला हुनेछ । पूर्वबाट काठमाडांै ओहोरदोहोर गर्ने गाडी भरतपुरको जिल्ला प्रशासन कार्यालय चोक, बाइपास– आँपटारी हुँदै चल्न पाउनेछन् ।
पूर्वबाट पश्चिम चल्ने गाडीलाई प्रशासन कार्यालय चोकबाट दक्षिण बाटो हुँदै नारायणी पुलसम्मको वैकल्पिक बाटो तय गरिएको छ । पश्चिमबाट छुट्ने गाडी नवलपरासीतिर नारायणी पुलको नजिकबाट शिवघाट जाने बाटो हुँदै पूर्वतर्फ र काठमाडांै चल्न मिल्ने चितवन प्रशासनले जनाएको छ । पूर्वबाट पश्चिम चल्ने गाडी आँपटारी–बाइपास हुँदै जिल्ला प्रशासन कार्यालय चोकबाट घुमेर नारायणी पुलतर्फ जानुपर्नेछ ।
पूर्वपश्चिम चल्ने यात्रुबाहक गाडी नारायणीको पुल हुँदै चल्न पाउने तर नारायणघाटको मुख्य बजारमा प्रवेश गर्न नपाउने प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए । उनका अनुसार नारायणीको पुलमा अरू भीडभाड गर्न रोकिनेछ । त्यस्तै, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्र अत्यावश्यक बाहेकका गाडी प्रवेशमा रोक लगाइएको छ । शुक्रवार बिहान १० बजेदेखि बेलुकासम्म ती क्षेत्रमा गाडी छिर्न पाउनेछैनन् ।
तर अत्यावश्यक एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, मृत्युसंस्कार लगायतका गाडी चल्नेछन् । यात्रा गर्नेलाई सकेसम्म सहज हुनेगरी व्यवस्थापन मिलाएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । १ हजार ५०० सुरक्षाकर्मी परिचालन महाधिवेशनको सुरक्षामा १ हजार ५०० भन्दा बढी सुरक्षाकर्मी खटाइने भएको छ । १ एआईजी र २ डीआईजीको कमान्डमा महाधिवेशनको सुरक्षाको व्यवस्था मिलाइएको छ ।
एआईजी सहकुल थापा, डीआईजी प्रकाशजंग कार्की र दिवेश लोहनीको कमान्डमा महाधिवेशनको सुरक्षाका लागि सुरक्षाकर्मीहरू परिचालित छन् ।
चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी झण्डै १ हजार ५ सय सुरक्षाकर्मी परिचालन हुनेछन् । महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका ८००, सशस्त्र प्रहरीको ४५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन हुनेछन् ।
चितवनसँग सीमाना जोडिएको नवलपुरको गैंडाकोटबाट नेपाल प्रहरीका सयभन्दा बढी सुरक्षाकर्मी खटिनेछन् ।
महाधिवेशन उद्घाटन हुने ठाउँ र बन्दसत्रको सुरक्षा मजबुत बनाउन लागि सुरक्षाकर्मी परिचालन गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति संयोजक अस्मान तामाङले जानकारी दिए । महाधिवेशन स्थलमा आवतजावतलाई सहज बनाउन आसपासका १३ ठाउँमा गाडी पार्किङस्थल तयार गरिएको छ ।
भीआईपी बस्ने ठाउँ र महाधिवेशनस्थललाई विशेष निगरानीमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख अधिकारीले जानकारी दिए । महाधिवेशन स्थलमा सार्दा पोसाकका र राष्ट्रिय अनुसन्धानका प्रहरी परिचालन हुनेछन् ।
चितवनका प्रत्येक घरमा निमन्त्रणापत्र
एमाले चितवनले महाधिवेशनको प्रचारप्रसार गर्न जिल्लाका प्रत्येक घरमा निमन्त्रणापत्र पठाइएको जनाएको छ । जिल्लामा रहेका ९८ वटै वडामार्फत निमन्त्रणापत्र पठाइएको १०औं महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीले जानकारी दिए । उद्घाटन सत्रमा जिल्लाभित्रबाट उल्लेख्य सहभागी गराउन प्रत्येक घरमा निमन्त्रणापत्र नै पठाइएको उनले बताए ।
उद्घाटन कार्यक्रममा एमाले कार्यकर्ता मात्रै नभएर शुभेच्छुक, शुभचिन्तकलगायत आमसर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको बताएको छ । चितवनबाट मात्रै उद्घाटन सत्रमा १ लाखभन्दा बढी जनसहभागिता गराउने तयारी गरिएको सुवेदीले जानकारी दिए । महाधिवेशनको उद्घाटनका लागि भव्य मञ्च तयार भएको छ । १०० जना अतिथि रहने गरी आकर्षक मञ्च निर्माण गरिएको छ । १६ फिट अग्लो मञ्चमा ४ खण्ड रहेका छन् ।
माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्डमा केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहनेछ । ७२ कलाकारले एकैपटक प्रस्तुति दिन सक्नेगरी मञ्च निर्माण गरिएको छ । मञ्च ८ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो बनेको एमालेका केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताए । नारायणी नदीको पुलबाट र गैंडाकोटतर्फको नदी किनारबाट समेत हेर्न मिल्ने गरी मञ्च बनाइएको छ ।
महाधिवेशनका लागि चितवनका ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ । जिल्ला प्रवेश गर्ने नाकादेखि बन्द सत्र हुने सौरहासम्म स्वागत गेट बनाइएको छ भने उद्घाटनस्थलमा ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ । महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्न ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ ।
कार्यक्रममा आउने सहभागीले सजिलै आफ्नो तस्वीर आफैंले लिन सक्ने गरी ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ ।
नेता मदन भण्डारी, लेनिनका तस्वीर पनि ‘सेल्फी प्वाइन्ट’मा राख्ने व्यवस्था गरिएको एमाले केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए । चितवनतर्फ २१ र नारायणी पारी गैंडाकोटतर्फ ४ ‘सेल्फी प्वाइन्ट’ रहेका छन् । मुख्य मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैंडा आकृति निर्माण रहने जानकारी दिँदै उनले त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिएको जानकारी दिए ।
महाधिवेशन उद्घाटनस्थलस्थलका २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्वीर राखिनेछ । गैंडाकोट क्षेत्रमा पर्ने नारायणी नदी किनारमा ठूलो आकारको बोर्ड राखिएको छ । जनताको बहुदलीय जनवाद (जबज) जिन्दावाद लेखिएको बोर्डलाई नारायणी वारि कार्यक्रम हुने स्थलबाट सेल्फी लिन सकिने बनाइएको छ ।
महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि सहभागी हुने भएका छन् । एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले निर्वाचित र मनोनित गरी २ हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।
यसअघि कात्तिक २७ गते देशभरिबाट १ हजार १९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए । मंसिर ७ गते बसेको स्थायी कमिटी बैठकले कूल निर्वाचित प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो । महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन् ।
प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा पनि बन्देज
महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाही हुने उनले चेतावनी दिए । कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता सामग्री वितरण गर्न रोक लगाइएको छ ।
यस्तो छ निर्वाचन कार्यक्रम
शनिवार ११ गते उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताए । सोही दिन बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ । मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका बनेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सुब्बाले जानकारी दिए । ११ गते साँझ ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ ।
१०० वटा विद्धुतिय मतदान मेशिन प्रयोग
चुनावमा १०० वटा विद्युतीय मतदान मशिन प्रयोग गरिने छ । ९२ वटा मशिन चुनावका लागि प्रयोग गरिने र ३ वटा मशिन नमूना मतदानका लागि कार्यालय अगाडि खुला राखिने छ । ५ वटा मशिन जगेडामा राखिने र कुनै मशिनमा गडबडी आएमा प्रयोगमा ल्याइने आयोगले जनाएको छ । १ जना प्रतिनिधिलाई मतदान गर्न सरदर आधा घण्टा लाग्ने अनुमान छ ।
एउटा मशिनमा झण्डै २२ जनादेखि ३० जनाले मतदान गर्नेछन् । मतदान सकिएको झण्डै २ घण्टाभित्र नतिजा समेत आउने गरी मतगणनाको व्यवस्था गरिने छ । हरेक मशिनबाट अलगअलग मतगणना गर्ने भएको हुँदा त्यति समय नलाग्ने आयोगको भनाइ छ । आपसी सञ्जालमा जोडिएको खण्डमा त्योभन्दा चाँडो नतिजा आउन सक्छ ।
नेकपा एमालेको विधानअनुसार विभिन्न ५० वटा ‘क्लस्टर’मा चुनाव गर्नुपर्ने हुन्छ ।
१५ जना पदाधिकारीसहित २२५ जनाको केन्द्रीय कमिटी हुनेछ । केन्द्रीय अनुशासन आयोगमा १५ र केन्द्रीय लेखा आयोगमा १५ गरी ३० जना निर्वाचित हुनेछन् । निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न सहज बनाउन शनिवार राति नै मोबाइलमा उम्मेदवारको विवरण उपलब्ध गराउनेछ । १२ गते बिहानसम्म उम्मेदवारको तस्वीर, क्रम नम्बर र नाम सहितको प्रकाशितप्रति प्रतिनिधिको हातहातमा पुर्याइनेछ । मतदान गर्न सजिलोका लागि प्रतिनिधिलाई प्रकाशितप्रति साथै लैजान छुट दिइने बताइएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।