उमेरले २८ वर्ष पुगेका अनुराग खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । उनी दाङ जिल्लामै सबैभन्दा बढी मत प्राप्त गरेर महाधिवेशनमा निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिको लागि मंगलबार भएको मतदानबाट दाङका तीन वटै निर्वाचन क्षेत्रमा अनुरागको बराबर कसैले पनि मत ल्याउन सकेनन् । जिल्लामा चुनिने ७० जना महाधिवेशन प्रतिनिधिमा उनी सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि बनेका हुन ।
जिल्लामा लोकप्रिय मत ल्याउने र कम उमेरका महाधिवेशन प्रतिनिधि अनुराग नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काका छोरा हुन् । खुमबहादुरले प्रभावशाली भूमिका राख्दै गर्दा अनुराग राजनीतिमा आउन चाहेनन् । पठन पाठनमा नै रहिरहे । उनले व्यवस्थापन संकायमा स्नातकोत्तर सक्दै गर्दा खुमबहादुरको निधन भयो । बुवाको निधनपछि अनुरागले राजनीतिमा चासो देखाए । उनी १४औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका छन् ।
उनले बुवाको वार्षिकी सकेर त्यही कार्यक्रममा राजनीतिमा आउने इच्छा रहेको सार्वजनिक गरेका थिए । खुमबहादुरलाई नेता मान्ने जिल्लाका कांग्रेसका नेता कार्यकर्ताहरूले त्यो निर्णयलाई स्वागत पनि गरेका थिए । नेपाली कांग्रेस केन्द्रीय समितिले अनुरागलाई विभागीय जिम्मेवारी पनि दिएको थियो ।
राजनीतिमा प्रवेश गरेका अनुरागले आफूले बुवाकै कारणले लोकप्रिय मत पाएको भन्दै बुवाकै सपना पुरा गर्न राजनीतिमा आएको बताएका छन् । ‘यो मेरो बुवाप्रति मतदाताले देखाएको सम्मान हो,’ अनुरागले भने, ‘यो सम्मानलाई निराश हुन दिन्न । म बुवाकै बाटोमा हिँड्ने छु ।’
उनले नेता तथा जिल्ला बासीहरूको परामर्शमा महासमिति सदस्य र केन्द्रीय सदस्यमा लड्ने तयारी गरेको बताएका छन् ।