गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी पुस ४ र ५ गते (डिसेम्बर १९ र २०) हुने भएको छ।
आन्तरिक विवादले गत महिनाका लागि तय गरिएको एनआरएनए १० औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र अनुरूप स्थगित भएको थियो।
संघका अध्यक्ष कुमार पन्तले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्धारित मितिमा चुनाव हुने भन्दै निर्वाचनका लागि सम्पूर्ण तयारीमा जुट्न निर्वाचन समिति तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन्।
संघको नयाँ नेतृत्वको लागि निर्वाचन मंसिर २९ (डिसेम्बर १५ तारिख) का दिन तोकिएको छ। परराष्ट्र मन्त्री नारायण खड्का र एनआरएनका प्रतिनिधिबीच भएको छलफल निष्कर्षमा पुगेपछि महाधिवेशनको टुंगो लागेको अध्यक्ष पन्तले जानकारी दिएका छन्।