स्पुतनिक-भी खोप ल्याउन स्वास्थ्य मन्त्रालयले थाल्यो छलफल, उत्पादन उद्दोग र त्यसका लागि प्राविधिक सहयोग नै गर्न रुसि अधिकारी तयार

 संवाददाता    २०७८, २ मंसिर बिहीबार २२:४०     166 जनाले पढ़िसके



Spread the love

काठमाडौं। स्वास्थ्य मन्त्रालयले सरकार-सरकार (जीटूजी) मार्फत् रुसको गामालिया राष्ट्रिय अनुसन्धान संस्थाले उत्पादन गरेको स्पुतनिक-भी आयातमा आवश्यक सहजीकरण गर्ने संकेत दिएको छ।

कोभिसिल्ड, भेरोसेल, जान्सेन, एक्स्ट्राजेनिका र फाइजर सहितका भ्यासिन अहिले नेपालमा कोभिड-१९ विरुद्ध प्रयोग भइसकेका छन्। एक चिनियाँ खोप कम्पनीले त क्लिनिकल परिक्षण समेत अनुपती लिएको अवस्थामा स्पुतनिक-भी भने विश्वका विभिन्न ७१ देशमा प्रयोग अनुमति पाएर पनि नेपालमा भने आयात भएको छैन। उक्त खोप नेपाल ल्याउन सकिने नेपालका लागि रुसी राजदूतले निकै अघि बताएका थिए। त्यसबेला भारत र चीनमा उत्पादित खोप नेपाल ल्याउने क्रम सुरु नै भएको थिएन।

बिस्तारै बिभिन्न मुलुकबाट खोप भित्रियो, रुसबाट ल्याउने प्रक्रिया अघि बढ्नै सकेन। केपी ओली नेतृत्वको अघिल्लो सरकारका बेला स्पुतनिक-भी ल्याउन केही प्रक्रिया अघि बढाए पनि शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि प्राथमिकतामा पर्न नसकेको बुझिएको छ।जब कि भारतमा यो खोप डा. रेड्डी नामक आयातकर्ता ले गत वैशाखमा नै आयातको लागि अनुमती प्राप्त गरि आयात सुरु गरेको थियो।

कोरोनाविरुद्धको रूसी खोप ल्याउन लोमस फर्मास्युटिकल्सले पनि प्रयास गरेको थियो। त्यो प्रक्रिया सफल हुन सकेन। रूसी संस्थाले यसअघि इबोलाविरुद्धको खोप निर्माणमा सक्रिय भूमिका खेलेको थियो। कोरोना संक्रमणले महामारीको रुप लिँदा सरकारले अनुदानका खोप पर्खनुको साटो आफैं खरिद पनि गर्दै जाने नीति लिएको थियो। अरू कम्पनीसँग प्रक्रिया अघि बढ्दा रुसी खोप भित्र्याउने मामिलामा भने नेपाल ढिला देखिएको छ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल अब भने रुसी खोप ल्याउन आवश्यक प्रक्रिया अघि बढेको बताउँछन्। ‘नेपालले रुसी भ्याक्सिन ल्याउने निर्णय गरिसकेकाले प्रक्रिया धेरै अगाडि बढेको छ,’ उनले भने, ‘हामी कुनै एजेन्टभन्दा पनि सरकार टु सरकार नै आदानप्रदान हुनुपर्छ भन्ने मान्यतामा छौं, त्यही प्रक्रियामा छौं।’

जीटूजीबाट रुसी भ्याक्सिन ल्याउन स्वास्थ्य मन्त्रालयले गत साउन २१ मा औषधि व्यवस्था विभागका महानिर्देशकलाई पत्र लेख्दै रिलायन्स ट्रेड एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिले आवश्यक सहजीकरण गर्ने आशय साथ आशयपत्र (एलओआइ) माग गरेको भन्दै काम अघि बढाउन अनुरोध गरेको थियो।

मन्त्रालयको उक्त पत्र माथि सम्बोधन गर्दै साउन २७ मा विभागले रिलायन्ससँग भ्यासिनको मूल्य र संख्या, आयात गर्ने समयसीमा, उत्पादकबाट प्रमाणीकरण पत्रलगायतका विवरणहरु माग गरेको थियो।

त्यसपछि रिलायन्सले विभागले माग गरेका सबै विवरण उपलब्ध गराएको मन्त्रालय स्रोतले जनाएको छ। ओली नेतृत्वको सरकार परिवर्तन भएर देउवा प्रधानमन्त्री भएपछि रसियन खोप आयात गर्ने काम प्राथमिकतामा नपरेको बताइएको छ।

त्यसैले भेरोसेल, एस्ट्राजेनिका, जोन्सन एण्ड जोन्सनको जेन्सेनलगायतका खोप निरन्तर नेपाल आइरहँदा स्वास्थ्यको प्राथमिकतामा स्पुतनिक-भी नपरेको जस्तो देखिएको हो,’ स्रोतले भन्यो, ‘खरिदमा सहुलियत र भन्डारणमा सहयोग हुने सम्भावना पनि नेपालले हेरेको हो।

स्पुतनिक-भी मा रुसी उत्पादकले ग्यारेन्टी खोजे पनि नेपाल सरकारले त्यसो गर्न सकेको छैन। साथै, नेपाल सरकारले सुरुको खेप नेपाल ल्याएर यहीँ खोप उत्पादन गर्न आग्रह गरेमा उपकरणसहित प्राविधिक सहयोग उपलब्ध गराउन तयार रहेको स्रोतले जनाएको छ।

नेपाल सरकारले आवश्यक ग्यारेन्टी र सहजीकरण गरिदिए रुसी संस्था नेपालमा वार्षिक १० करोड डोज खोप उत्पादन गर्ने प्लान्ट नै स्थापना गर्न तयार रहेको बताइएको छ। खोप उत्पादन गर्न आवश्यक कच्चा पदार्थ र प्राविधिक सहयोग रुसी संस्थाले नेपाललाई दिन तयार रहेको बताइएको छ।

नेपाल सरकारले नै केही लगानी गर्न तयार भए रूसी उत्पादकसमेत साझेदारी गर्न तयार रहेको बताइएको छ। नेपालमै प्लान्ट राखेर स्पुतनिक उत्पादन भए प्रति डोज दुई अमेरिकी डलर हाराहारी मात्रै पर्ने स्रोतले जनाएको छ। रुसी प्राविधिकका अनुसार प्लान्ट ९० दिनभित्र तयार गर्न सकिने दावी छ।

कोरोना महामारीको प्रभाव कहिलेसम्म लम्बिने यकिन नभएकाले सधैं मित्र राष्ट्रहरुको सहयोगमा खोप भित्र्याउन नहुने खोप आयातकर्ताहरुले जोड दिँदै आएका छन्। खोप उत्पादन आफैंले गर्न सके कुनै समय पुन: संक्रमण उकालो लागे नियन्त्रणमा सहयोग पुग्ने बताइएको छ।

स्पुतनिक-भी भ्याक्सिन कोरोनाविरुद्ध ९२ प्रतिशत प्रभावकारी हुने मेडिकल जर्नल ‘द ल्यान्सेट’ले उल्लेख गरेको छ। तेस्तै उत्पादक कम्पनिले बेलारुसमा करिब १२ लाख मानिसमा गरेको अध्ययनमा ९६.३ प्रतिशत प्रभावकारी भएको बताएको छ साथै विश्वका ७१ देशले मान्यता दिएको जनाएको छ। स्पुतनिक-भी डेल्टा भेरिएन्ट लगायत भारतमा देखिएको थप दुई भेरिएन्टमा उच्च प्रभावकारी रहेको जनाइएको छ। छिमेकी भारतले भ्याक्सिन सम्बन्धी जानकारी दिन बनाइएको वेबसाइट ‘कोविन पोर्टल’ मा गत मे १४ बाट रुसी कोभिड भ्याक्सिन स्पुतनिक-भी समावेश गरेको थियो। नेपालमा भने अहिलेसम्म रुसी खोप आइपुगेको छैन।

रूसी खोप १२ वर्ष उमेर माथिले लगाउन सक्नेछन भने खोपको प्रभावकारिता २ वर्ष रहेको दाबी उत्पादकको छ। साथै +८ डिग्री तापक्रम सम्म भण्डारण गर्न सकिने जनाइएको छ।स्पुतनिक-भी को पहिलो तथा दोस्रो डोज खोप फरक फरक तत्व बाट तयार पारिएको जसले गर्दा यसको प्रभावकारीता अन्य खोप भन्दा उच्च रहेको कम्पनीको दाबी छ।यति हुँदाहुँदै नेपाली अधिकारीहरु भन्डारणमा झन्झटिलो फाइजर खोप जुन माइनस तापक्रम मा भण्डारण गर्नुपर्ने जसको लागि देशभर भन्डारण क्षमता नै अभिवृद्धि गर्नुपर्ने र आउन पनि समय लाग्ने खोप फाइजर प्रती समय खेरफाल्न लागिपरिरहेका छन यसमा सम्बन्धित अधिकारीहरुको ध्यान जान जरुरी देखिएको छ।