जिल्ला सभापतिको निर्वाचन प्रक्रियामा दाेहोरो मापदण्डले, कांग्रेसमा असन्तुष्टि चर्कियो

 संवाददाता    २०७८, ६ भाद्र आईतवार १८:५७     82 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसमा जिल्ला सभापतिको निर्वाचन प्रक्रियालाई लिएर असन्तुष्टि देखिएको छ। विधानविपरीत कांग्रेसको निर्वाचन निर्देशिकामा जिल्ला सभापतिको उम्मेदवार हुनका लागि दोहोरो मापदण्ड बनाइएको भन्दै असन्तुष्टि देखिएको हो।

निर्वाचन निर्देशिकामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय प्रतिनिधि जिल्ला सभापतिको उम्मेदवार बन्न पाउने र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय ५३ जिल्ला सभापतिहरूले यसप्रति सामूहिक असन्तुष्टि जनाएका हुन। उनीहरूले निर्देशिकामा रहेको दोहोरो व्यवस्था हटाउन माग गर्दै सभापति शेरबहादुर देउवालाई पत्र लेखेका छन्।

‘सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस्,’ भेलापछि सभापति देउवालाई लेखिएको पत्रमा भनिएको छ। शनिबार बसेको कांग्रेस जिल्ला सभापतिहरूको भेलाले निर्देशिकाको व्यवस्थाप्रति असहमति जनाएको काभ्रेपलाञ्चोक जिल्ला सभापति मधु आचार्यले बताए।

‘विधानले पार्टीको महाधिवेशन प्रतिनिधिले मात्रै सभापतिमा चुनाव लड्न पाउँछ भन्ने व्यवस्था छ,’ उनले भने, ‘तर, एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय सभापति पनि चुनाव लड्न पाउने भन्ने व्यवस्था गरिएको छ। यो पार्टीको विधान प्रतिकूल छ।’ जिल्ला सभापतिहरूले विधानबमोजिम महाधिवेशन प्रतिनिधिलाई मात्र जिल्ला सभापतिको उम्मेदवार बनाउनुपर्ने आवाज उठाएका छन्।

कांग्रेस कार्यतालिकाअनुसार एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज ५ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा असोज १० लाई तोकिएको छ।