काठमाण्डाै – अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि देश छाडेका अफगानिस्तानका राष्ट्रपति अशरफ घानीलाई यूएईले शरण दिएको छ । यूएईको विदेश मन्त्रालयले मानवताको आधारमा राष्ट्रपति घानी र उहाँको परिवारलाई आफ्नो देशमा स्वागत गरेको जनाएको छ ।अफगानिस्तानबाट भागेका घानी पहिले ताजिकिस्तान गएका भनिएको थियो । तर, समाचार संस्था अल जजिराले घानी र उहाँको परिवार तथा सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार भागेर उज्वेकिस्तान गएको दाबी गरेको थियो ।सङ्कटका बेला देश र नागरिकलाई छोडेर भागेको भन्दै उहाँको आलोचना पनि भइरहेको छ । पहिलो पटक सन् २०१४ मा अफगानिस्तानको राष्ट्रपति भएका घानीले दोस्रो पटक सन् २०१९ मा सत्ता सम्हाल्नु भएको थियो ।यसैबीच, विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अफगानिस्तानमा हजारौँ नागरिक विस्थापित भएका भन्दै चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओले अफगानिस्तानमा तत्काल मानवीय सहायता र स्वास्थ्य सेवाको आवश्यकता रहेको पनि जनाएको छ।