स्थानीय तहमा दलीय प्रतिस्पर्धा हटाउन माग, माइतीघरमा प्रदर्शन

 संवाददाता    २०८३, १३ कार्तिक बिहीबार १३:४४     15 जनाले पढ़िसके



Spread the love

स्थानीय तहलाई दलीय राजनीतिको प्रभावबाट मुक्त गराउनुपर्ने माग गर्दै ‘गैर दलीय स्थानीय तह अभियान नेपाल’ ले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।

बिहीबार अभियानले ऐक्यबद्धता सभा पनि गरेको छ। स्थानीय सरकारको सञ्चालन र निर्णय प्रक्रियामा राजनीतिक दलहरूको हस्तक्षेप बढेको भन्दै अभियानले दबाब सिर्जना गर्न कार्यक्रम गरेको जनाएको छ।

स्थानीय तहको निर्वाचन र शासन सञ्चालनमा दलीय भागबण्डा र हस्तक्षेपले गर्दा विकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा नकारात्मक असर परेको भन्दै अभियानले लामो समयदेखि आवाज उठाउँदै आएको छ। स्थानीय तह भनेको दलीय प्रतिष्पर्धा गर्ने थलो नभई नागरिकको सेवा र स्थानीय विकासको केन्द्र हुनुपर्ने अभियानको भनाइ छ।

अभियानले यसअघि नै देशभर यसबारे बहस चलाउँदै आएको छ। दलको निर्देशनमा चल्दा जनप्रतिनिधि जनताप्रति भन्दा पार्टीप्रति बढी उत्तरदायी हुनुपर्ने बाध्यता रहेकाले यसलाई नीतिगत रूपमै सुधार गर्नुपर्ने माग राखेको छ।

अभियानले स्थानीय तहको निर्वाचनमा दलहरूको उम्मेदवारी दिने व्यवस्थालाई नै परिवर्तन गरी स्वतन्त्र व्यक्तिले मात्र प्रतिष्पर्धा गर्न पाउने व्यवस्था हुनुपर्ने पैरवी गर्दै आएको छ।