नेपाली कांग्रेसकी केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्काले सत्य ढिलो हुने तर पराजित नहुने भन्दै आफूलाई साथ दिनेहरुलाई धन्यवाद दिएकी छन् ।
नेपाली कांग्रेसको महाधिवेशन चलिरहँदा र केन्द्रीय सदस्यको उम्मेदवार भइरहदा प्रहरी धरपकडमा परेपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्, ‘राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउँदा रहेछन् ।’
उनले आफूले नगरेको कसुरमा प्रश्न उठ्दा मन कुँडिएको तर निष्ठा, प्रिय साथीहरूको विश्वास र देशको न्याय प्रणालीमाथि पूर्ण भरोसा रहेको प्रतिक्रिया दिएकी छन् ।
उनले भनेकी छन्, ‘सम्मानित अदालतले ममाथि लगाइएका कुनै प्रमाण बिनाका यस्ता आरोपहरू निराधार ठहर गरेको छ। सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन भन्ने पुनः पुष्टि भएको छ।’
उनले अप्ठ्यारो घडीमा साथमा उभिने अभिभावक, नेता, साथी र न्यायप्रेमी मनप्रति आभार व्यक्त गरेकी छन् । । उनले भनेकी छन्, ‘निन्दा, शंका र टिप्पणी गर्नुहुने आलोचकहरूप्रति पनि मेरो कुनै गुनासो छैन, तपाईंका प्रश्नहरूले मलाई अझ परिपक्व र जिम्मेवार बन्ने प्रेरणा दिएका छन्।’
उनले अझ बढी निष्ठाका साथ सेवामा समर्पित रहने बताएकी छन् ।
जीटूजीबाट इजरायलमा केयरगिभरमा पठाइदिने प्रलोभन देखाई साढे दुई करोड रूपैयाँभन्दा बढी ठगी गरेको आरोपमा रामेछापकी खड्का असोज २३ गते पक्राउ परेकी थिइन् । अदालतले हिजो उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।