खगेन्द्रको अडिओ प्रकरणमा रास्वपा सचेतक परियार भन्छन्– दोषीलाई उन्मुक्ति दिइँदैन

 संवाददाता    २०८३, २७ आश्विन मंगलवार १२:१९     19 जनाले पढ़िसके



Spread the love

रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले पार्टीका सांसद खगेन्द्र सुनारको विवादित अभिव्यक्ति पुष्टि भए कारबाही हुने बताएका छन्।

सङ्खुवासभा पुगेका सचेतक परियारले पत्रकारहरूसँग कुरा गर्दै अहिले पार्टीले छानबिन प्रक्रिया अघि बढाइसकेको बताए।

उनले भने, ‘प्रमाणहरू नष्ट हुन्छ भनेर स्वयम् सांसद खगेन्द्र सुनारलाई सहयोग गर्न पार्टी महामन्त्रीले सार्वजनिक विज्ञप्ति जारी गरेर अनुशासन आयोगलाई दसैंको मुखमुखमा सक्रिय बनाएको कुरा यो ऐतिहासिक हो। उहाँलाई सार्वजनिक अभिव्यक्ति नदिन, सार्वजनिक कार्यक्रममा सरिक नहुन र पार्टीको अनुशासन आयोगलाई यो घटनाको सत्यतथ्य, यथार्थ बारेमा सहयोग गर्न निर्देशन दिइसकेको छ।’

पार्टीको अनुशासन आयोगले उच्चस्तरीय छानबिन गरिरहेको भन्दै एक जना व्यक्तिको पछाडि लागेर रास्वपा सती नजाने प्रस्ट पारे।

उनले थपे, ‘छानबिनको प्रतिवेदनको आधारमा निलम्बनदेखि राइट टु रिकलसम्म गर्ने हाम्रो विधानमा छ, त्यसमा तपाईँहरू ढुक्क हुनुस्। कोही पनि अपराध कर्म गर्ने, महिला हिंसा गर्ने र नेपाली समाजले सुन्न पनि नसक्ने शब्द हाम्रै पार्टीको सांसदले हो भने कारबाही हुन्छ, हुन्छ, हुन्छ। एक जना व्यक्तिको पछाडि राखेर राष्ट्रिय स्वतन्त्र पार्टी सती जाँदैन।’

उनले आरोप पुष्टि भए जोगाउन नलाग्ने उनको भनाइ छ। महामन्त्रीले विज्ञप्ति जारी गरेर पहिलो निमेषमै एक्सन लिइसकेको बताए।