हिंसापीडित आमा र बच्चालाई तत्काल उद्धार गरी सुरक्षा दिन रामकुमारीको आग्रह

 संवाददाता    २०८३, २७ आश्विन मंगलवार १२:३३     10 जनाले पढ़िसके



Spread the love

नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभा सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको अडियो प्रकरणप्रति चासो र चिन्ता व्यक्त गरेकी छन् । सुनारको हिंसामा परेकी महिला र उनका नाबालक बच्चाको तत्काल सुरक्षा प्रबन्ध गर्न सरकार र नेपाल प्रहरीसँग उनको माग छ ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेतृ झाँक्रीले सार्वजनिक भएको अडियोमा एक महिला सांसद र उनका नाबालक बच्चालाई अश्लील गालीगलौज तथा ज्यान मार्ने धम्की दिइएको विषयले आफू स्तब्ध भएको उल्लेख गरेकी छन् ।

सार्वजनिक अडियो अत्यन्तै बीभत्स र सुन्नै नसकिने खालको रहेको भन्दै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘त्यो अडियो त मैले सुन्न पनि सकिनँ । अझ बच्चालाई समेत मार्दिने, रगत खाने कुरा गरेको सुनिन्छ । बच्चालाई बिनाबाउको वेश्याको छोरा भनेको सुन्दा मेरोसमेत रगत तात्यो । उनीहरूको सम्बन्धमा बच्चाको यहाँ के दोष ? हिंसाको पनि हद हुन्छ नि !’

घटना सामान्य नभएको र बच्चा तथा महिलामाथि गम्भीर सुरक्षा खतरा रहेको उल्लेख गर्दै झाँक्रीले अपराधीमाथि कारबाही हुनुभन्दा पहिले पीडितको जीवन रक्षा मुख्य सवाल भएको बताएकी छन् ।

‘अपराधीमाथि कारबाहीभन्दा पहिले पीडितको सुरक्षाको सवाल आउँछ । नेपाल प्रहरी यसमा गम्भीर बनोस् र तत्काल सुरक्षा प्रबन्ध गरोस्,’ झाँक्रीले भनेकी छन्,’ त्यसपछि सम्बन्धितमाथि तुरुन्त अनुसन्धान गरी कानुनी कारबाही गरियोस् ।’

उनले यस प्रकरणलाई लिएर रास्वपा सभापति रवि लामिछानेको ध्यानाकर्षण गराउँदै पार्टीले यस विषयलाई गम्भीरताका साथ लिनुपर्ने बताएकी छन्।

सामान्यतया व्यक्तिगत मामिलामा आफू चासो नराख्ने भए पनि यो विषय व्यक्तिगत मात्र नभई ठूलो हिंसा, असुरक्षा र गम्भीर मानसिक तनाव (ट्रमा) सँग जोडिएको उनको ठहर छ । कुनै पनि अप्रिय घटना हुनुअघि नै नेपाल प्रहरीले आमा र बच्चालाई तत्काल उद्धार (रेस्क्यु) गरी सुरक्षा दिनुपर्ने माग नेतृ झाँक्रीले गरेकी छन् ।