नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी रूपान्तरणको यात्रामा आफूले धेरै काम गर्न बाँकी रहेको बताएका छन्। मतदानअघि महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन्।
उनले भनेका छन्, ‘नेपाली कांग्रेसको रूपान्तरणको यो यात्रामा मैले धेरै काम गर्न बाँकी छ । यसर्थ तपाईँको विश्वास र प्रेरणाले म महामन्त्री पदको उम्मेदवार बनेको छु । तपाईँको एउटा मत मेरा लागि मात्र हुने छैन, लोकतन्त्रको सुदृढीकरण, काङ्ग्रेसको नव निर्माण र समुन्नत नेपालको हाम्रो साझा सपनामा महत्त्वपूर्ण योगदान हुनेछ ।’
जनताले चाहेजस्तो र खोजेजस्तो सुदृढ गतिशील र विशाल कांग्रेस बनाउन विगतभन्दा अझ सघन रूपमा खट्ने प्रण गरेका छन्। पौडेल विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए। जारी १५ औँ महाधिवेशनमा पनि सोही पदमा उम्मेदवारी दिएका छन्।