नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदै छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसअघि बिहान ७ बजेदेखिको समय १० बजे सारिएकामाा वर्षा र प्राविधिक कारणले गर्दा दिउँसो १ बजेदेखि मतदान सुरु हुने केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए।
महाधिवेशनमा सहभागी सात हजार २५५ महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्। खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ तोकिएको छ। खुलामञ्चमा रहेको कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।
त्यस्तै खुलामञ्चमा रहेको गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ। खुलामञ्चमा रहेको मधेस प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल तोकिएको छ।
लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले खुलामञ्चमा रहेको पहाड हलबाट मतदान गर्नेछन्।
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ।
निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन। प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन्।
अब मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। नयाँ नेतृत्व चयनका लागि हुने मतदानपछि मतगणना शुरू गरिने निर्वाचन समितिले जनाएको छ।
१५औँ महाधिवेशनले विधान संशोधन गरेर कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ।