अल्पसंख्यक सहमहामन्त्रीको दौडमा ४ जना, शेर्पा र गौचनबीच मुख्य प्रतिस्पर्धा

 संवाददाता    २०८३, २२ आश्विन बिहीबार १२:०५     15 जनाले पढ़िसके



Spread the love

काठमाडौँमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अल्पसंख्यक सहमहामन्त्री एउटा पदका लागि चार जना चुनावी मैदानमा उत्रिएका छन्।

यसका लागि केन्द्रीय सदस्य आंगेलु शेर्पा, सांसद योगेश गौचन थकाली, केन्द्रीय सदस्य नरेन्द्र कुमार कुमाल र महाधिवेशन प्रतिनिधि बालकृष्ण सापकोटा उम्मेदवार बनेका हुन्।

यद्यपि मुख्य प्रतिस्पर्धा भने शेर्पा र गौचनबिच हुने देखिएको छ।

सोलुखुम्बुका शेर्पा केन्द्रीय कार्यसम्पादन समिति सदस्य हुन्। महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका शेर्पाले उम्मेदवारी भजे सहमहामन्त्रीमा दिएका छन्।

यस्तै कांग्रेसका युवा नेता गौचन हाल निर्वाचित सांसद हुन्। पहिलोपटक २०७९ को आम निर्वाचनमा मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

त्यसबेला उनी नेपाली कांग्रेसबाट प्रत्यक्ष निर्वाचित हुने सबैभन्दा कान्छा सांसद (२९ वर्ष) का रूपमा चर्चामा आएका थिए। २०८२ फागुनमा भएको निर्वाचनमा उनी पुनः प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए।

पार्टीको साविक लेते गाउँ सभापति र जिल्ला कार्यसमिति सदस्य हुँदै उनी हाल गण्डकी प्रदेशको कार्यसम्पादन समिति सदस्य छन्।

सक्रिय विधार्थी राजनीति, सामाजिक संस्था, युवा क्लवको नेतृत्व, पटक पटक पार्टीको महासमिति एवम् महाधिवेशन प्रतिनिधि बनेका गौचनले अन्तराष्ट्रिय युवा मञ्चमा पनि आफूलाई बलियो ढंगले उभ्याएका छन्।

उनी नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री रोमी गौचन थकालीका छोरा हुन्। इलामका कुमाल कांग्रेस केन्द्रीय सदस्य हुन् भने सापकोटा कांग्रेस महाधिवेशन प्रतिनिधि छन्।

असोज १८ देखि जारी महाधिवेशनमा आज दिउँसो १ बजेबाट मतदानको कार्यतालिका छ।