परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी भएर आज फर्किए । १० दिन लामो भ्रमणमा उनले महासभाका औपचारिक कार्यक्रममा बाहेक पनि साइडलाइन भेटघाट र बैठकमा निकै सक्रिय रहे ।
न्युयोर्कबाट फर्किएपश्चात् पत्रकारहरूसँग कुरा गर्दै खनालले भ्रमणका दौरान ८० भन्दा बढी उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय फोरम तथा द्विपक्षीय भेटवार्तामा सहभागी भएको जानकारी दिएका छन् । साथै तीन नयाँ देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको र तीन देशसँग महत्त्वपूर्ण सम्झौता गरेको पनि उनले बताए ।
नेपालले क्यारेबियन मुलुक ग्रेनाडा तथा अफ्रिकी मुलुकहरू नामिबिया र सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्ति (जोइन्ट कम्युनिकेसन) मा परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका थिए । योसँगै नेपालसँग औपचारिक कूटनीतिक सम्बन्ध भएका देशहरूको सङ्ख्या १८८ पुगेको छ ।
रुवान्डाका परराष्ट्रमन्त्री ओलिभर जाँ प्याट्रिक, सर्बियाका परराष्ट्रमन्त्री मार्को जुरिक र बेलारुसका परराष्ट्रमन्त्री म्याक्सिम रोज्नेकोभसँग भएको छुट्टाछुट्टै भेटवार्तामा ‘जनरल कोअपरेसन अग्रीमेन्ट’, ‘द्विपक्षीय परामर्श संयन्त्र’ स्थापना र कूटनीतिक, सरकारी तथा सेवा राहदानी बाहकहरूलाई भिसा छुट दिनेसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
अतिकम विकसित मुलुकहरूको ग्लोबल कोर्डिनेसन ब्युरोको अध्यक्षका रूपमा नेपालले खेलेको भूमिकाबारे प्रकाश पार्दै सन् २०२६ देखि २०२९ सम्मको कार्यकालका लागि अध्यक्ष पद गाम्बियालाई हस्तान्तरण गरिएको छ ।
भोटेकोसी बाढीपछिको पुनर्निर्माणमा सहयोग जुटाउन परराष्ट्रमन्त्रीले गरेको उच्चस्तरीय कूटनीतिक पहलबाट ठूलो वित्तीय सहायता सुनिश्चित भएको छ । संयुक्त अरब इमिरेट्सका उपप्रधान तथा परराष्ट्रमन्त्री हिज हाइनेस शेख अब्दुल्ला बिन जायद अल नाह्यानसँगको भेटपछि युएई सरकारले नेपालका बाढी प्रभावित समुदायका लागि थप २५ मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
अमेरिकी राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री (अन्डर सेक्रेटरी अफ स्टेट) एलिसन हुकरसँग भएको शिष्टाचार भेटका क्रममा अमेरिकाले नेपालका बाढीपीडितहरूका लागि ३० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराएको छ ।
विश्व नेतृत्वसँग बाक्लो द्विपक्षीय संवाद
मन्त्री खनालले राष्ट्रसङ्घको महासभाको साइडलाइनमा विश्वका प्रभावशाली नेताहरूसँग गहन द्विपक्षीय छलफल गरे । उनले भुटानका प्रधानमन्त्री, भारतका विदेशमन्त्री, पोल्यान्ड तथा पाकिस्तानका उपप्रधान तथा परराष्ट्रमन्त्रीहरू, जापान, जर्मनी, फिनल्यान्ड, आइसल्यान्ड, स्लोभाकिया, माल्दिभ्स, अस्ट्रेलिया, कजाखस्तान, श्रीलङ्का, अर्मेनिया, रोमानिया र पोर्चुगलका परराष्ट्रमन्त्रीहरूसँग भेटवार्ता गरेका थिए ।
यसैगरी, बेलायतका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री, युरोपेली आयोगकी कार्यकारी उपाध्यक्ष, मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त, राष्ट्रसङ्घीय शान्ति मिसन हेर्ने उपमहासचिव, अमेरिकी चेम्बर अफ कमर्सका नेतृत्व तथा अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रडसँग पनि फलदायी कुराकानी भएको खनालले बताए ।
परराष्ट्रमन्त्रीले नेपाल आफैँले आयोजना गरेको ‘सगरमाथा टु द सी: अ कल टु एक्सन फर क्लाइमेट रेजिलियन्ट फ्युचर’ उच्चस्तरीय सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै पहाडदेखि समुद्रसम्मको पर्यावरणीय अन्तरआबद्धता जोगाउन विश्वव्यापी सहकार्यको आह्वान गरे ।
यसबाहेक, भारतद्वारा आयोजित ‘ग्लोबल साउथ’ मन्त्रीस्तरीय बैठक, एसिया सोसाइटीको ‘स्टियरिङ नेपाल्स फ्युचर इन एसियाज राइजिङ सेन्चुरी’ संवाद, सी लेभल राइजसम्बन्धी उच्चस्तरीय बैठक, जी–७ तथा क्लाइमेट भल्नरेबल फोरम भी–२० का बैठकहरूमा नेपालको धारणा प्रस्तुत गरिएको थियो ।
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रीले भने, ‘हामीले पाएका सबै कूटनीतिक अवसरहरूको भरपुर उपयोग गर्यौँ । नेपालको भूपरिवेष्टित अवस्थालाई रणनीतिक अवसरमा बदल्ने, जलवायु न्याय स्थापित गर्ने र बाढीपछिको पुनर्निर्माणमा विश्वको बलियो साथ जुटाउने दिशामा यो भ्रमण कोशेढुङ्गा साबित भएको छ ।’