प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैं सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।
मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटवार्तामा प्रधानमन्त्री शाहले दुई देशको सम्बन्धबारे चर्चा गरेका हुन्। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग बिदाइ भेट गरेका छन्।
भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरेका छन्।
त्यस्तै, प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकोमा बधाई दिएका छन्। उनले आगामी यात्राका लागि शुभकामना समेत व्यक्त गरेका छन्।
राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै विकास परियोजनाहरू सम्पन्न भएको जानकारी गराए। नेपाल बसाइका क्रममा सहयोग पुर्याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद दिएका छन्।