पृथ्वी राजमार्गमा आज बुधबारदेखि सबै किसिमका सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ।
लगातार वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएपछि तथा सडक भासिएपछि प्रभावित पृथ्वी राजमार्ग आजदेखि भने सवारीसाधन चलाउन पूर्ण रूपमा खुला गरिने भएको हो।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले मंगलबार बेलुका नै जारी गरेको सूचनाअनुसार थप पहिरो नखसे आज बुधबार दिउँसो १ बजेदेखि सबै किसिमका सवारीसाधन सञ्चालन गर्न दिइने भएको हो।
यसअघि पहिरोका कारण विभिन्न ठाउँमा सवारी आवागमन एकतर्फी सञ्चालनमा थियो।
सूचनामा भनिएको छ, ‘पहिरोलगायतका अवरोधहरू हटाउने काम भइरहेको र हाल एकतर्फी मात्रै सवारी आवागमन सुचारु भएकामा थप पहिरो/अवरोध नआए मिति २०८३/०६/१४ गते बुधबार अपराह्न १ बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
यद्यपि वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले सवारी चालक, यात्रु र सर्वसाधारणलाई सावधानिपूर्वक यात्रा गर्न र गराउन पनि स्थानीय प्रशासनले भनेको छ।
