इरानमाथिको प्रतिबन्धमा छुट दिने समाचारको ट्रम्पद्वारा विरोध

 संवाददाता    २०८३, १३ आश्विन मंगलवार ११:२१     12 जनाले पढ़िसके



Spread the love

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई प्रतिबन्धमा राहत र रोक्का गरिएको रकममा पहुँच दिने प्रस्ताव गरिएको भन्ने ‘एक्सियोस’को रिपोर्ट झूटो रहेको बताएका छन् ।

ट्रम्पले ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै आफूले इरानलाई ‘केही पनि प्रस्ताव नगरेको’ बताएका हुन् । उनले एक्सियोसको रिपोर्टलाई गलत भन्दै तत्काल फिर्ता लिनसमेत माग गरेका छन् ।

एक्सियोसले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इरानको आणविक कार्यक्रममा ठोस कदम चाल्ने सर्तमा प्रतिबन्धमा राहत दिने र रोक्का गरिएको इरानी रकममा पहुँच उपलब्ध गराउने प्रस्तावमाथि विचार भइरहेको दाबी गरेको थियो ।

यसैबीच, अमेरिकाका पूर्व विदेशमन्त्री एन्थनी ब्लिन्केनले पनि एक्सियोसको रिपोर्टबारे प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समा यो विषय आफूलाई ‘परिचितजस्तै’ लागेको बताएका छन् ।

ब्लिन्केनले उक्त प्रस्ताव पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको इरानको आणविक सम्झौतासँग मिल्दोजुल्दो रहेको बताएका छन् ।

उनका अनुसार ओबामा प्रशासनले गरेको उक्त आणविक सम्झौतामा आफूले पनि काम गरेका थिए ।

ब्लिन्केनले ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उक्त सम्झौता अन्त्य गरेको र त्यसको विकल्पमा कुनै अर्को व्यवस्था नगरेको दाबी गरेका छन् । यही कारणले अहिलेको ‘असफल र अनावश्यक युद्ध’को अवस्थासम्म पुग्नुको एउटा प्रमुख कारण बनेको उनको भनाइ छ ।

ट्रम्पको पछिल्लो प्रतिक्रिया अमेरिका र इरानबीच मध्यस्थकर्तामार्फत आणविक मुद्दालगायत अन्य विषयमा वार्ताको प्रयास जारी रहेका बेला आएको हो ।