कोइराला परिवारको रगतमै कांग्रेस बगेको छ भनिन्छ । पिताजी कृष्णप्रसाद कोइरालापछिको दोस्रो पुस्ताका तीन भाइ छोरा एकैघरबाट नेपालको प्रधानमन्त्री र नेपाली कांग्रेसको सभापति बने ।
तीनैमध्येका एक प्रधानमन्त्रीकी नातिनीले कोइराला परिवारको चौथो पुस्ताबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेकी छन् । कांग्रेसका संस्थापक तथा सभापति एवम पूर्व प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाकी नातिनी रिचा कोइराला काठमाडौँ–१ बाट महाधिवेशन प्रतिनिधिका लागि आज मैदानमा छिन् ।
उनी प्रजातन्त्र सेनानी क्लस्टरबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी हुन् । नेपालमा प्रजातन्त्र स्थापना गर्न उनका जिजुबुबा पिताजी कृष्णप्रसाद कोइराला, हजुरबुबा मात्रिका प्रसाद र बुबा कमलप्रसाद कोइरालाले जेलनेल भोगेका थिए । सोही परिवारको चौथो पुस्ताकी सदस्य हुन रिचा ।
कोइराला परिवारका एकमात्र कम्युनिस्ट थिए उनका पिता कमल प्रसाद कोइराला । बुबा मात्रिका प्रसाद कोइराला प्रधानमन्त्री भएका बेला कम्युनिस्ट गतिबिधिमा लागेर कमल कोइराला जेल परेका थिए । रिचा भने ५ वर्षअघि कोइराला परिवारलाई सरप्राइज दिँदै कांग्रेसको राजनीतिमा डेब्यु गरेकी थिइन् ।
कांग्रेस विभाजित भएर महाधिवेशनमा गएका बेला चौथो पुस्ताकी सदस्य रिचाले भने संस्थापन पक्ष अर्थात गगन थापालाई नेता मानेकी छन् । जबकि अर्को पक्षको नेतृत्व नै उनका काका सशांक कोइरालाले गरेका छन् भने शेखर कोइराला तटस्थ देखिएका छन् ।
‘रुख र चारतारा अनि कांग्रेसको विरासत जहाँ छ, आफू त्यहिँ रहन्छु,’ उनले बताइन् । आफू राजनीतिमा महत्वाकांक्षी नभई कोइराला परिवारको विरासत कामय राख्ने हिसाबले कांग्रेस राजनीतिमा जोडिएको र यसपटक महाधिवेशन प्रतिनिधि बनेर पार्टीको नीतिगत तहमा पुग्न चाहेको रिचाले बताइन् ।
कांग्रेसका नेता कार्यकर्ता सबैबाट आफूले हौसला पाएको भन्दै महाधिवेशन प्रतिनिधिमा साथ सहयोग पाउने दाबी गरिन् । आजै बानेश्वरको आनन्द वैंक्वेटमा महाधिवेशन प्रतिनिधिको निर्वाचन भइरहेको छ ।
रिचाले केही वर्षअघिदेखि नै मातृका प्रसाद कोइराला प्रतिष्ठानको अध्यक्ष भएर सामान्य कार्यक्रमहरु गर्दै आएकी छन् । कांग्रेस राजनीतिमा वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको जति चर्चा मात्रिका प्रसाद कोइरालाको हुँदैन । जबकि मात्रिका उनीहरु दुवैका दाइ थिए र उनीहरु दुवैभन्दा पहिले नै प्रधानमन्त्री र पार्टी सभापति भएका थिए ।
पछि मात्रिकाले कांग्रेसको आन्तरिक विवादमा राजनीति छाडेपछि यो परिवार कांग्रेसमा उपेक्षित थियो । किनभने मात्रिकाका छोरा कमल कोइराला चर्चित कम्युनिस्ट नेता भइसकेका थिए ।
कमल कोइराला मनमोहन अधिकारी, पुष्पलालहरुको समूहमा थिए । कालान्तरमा एमालेको केन्द्रीय नेतृत्वमा रहे । २०५१ सालमा मोरङबाट उनले सांसद जिते । पछि कोरियाको लागि नेपाली राजदूत पनि भए । एक वर्षअघि कमल कोइरालाको निधन भएको थियो ।