जापानमा जारी एसियन गेम्सअन्तर्गतको क्रिकेट प्रतियोगितामा वर्षा वाधक बनेको छ । वर्षाका कारण क्वार्टरफाइनलका दुई खेलहरू आज रद्द भएपछि भारत र पाकिस्तान सिधै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आईसीसी वरियतामा माथिल्लो स्थानमा रहेका आधारमा यी दुवै टोलीले खेल नै नखेली सेमिफाइनलको टिकट पक्का गरेका हुन् । भारतको भिडन्त अफगानिस्तानसँग थियो भने पाकिस्तानको हङकङसँग । तर लगातार पानी परेकाले दुवै म्याचमा एक बल पनि फ्याँकिन सकेन ।
भोलि हुने नेपाल र श्रीलंकाको म्याचमा पनि बर्षाको जोखिम उच्च छ । नेपाली क्रिकेट समर्थकहरू एउटै प्रार्थना गरिरहेका छन्- खेल नतिजाबिहिन नहोस् । किनकि यदि परिणाम आउन सकेन भने वरियताका आधारमा श्रीलंका सेमिफाइनलमा पुग्छ र नेपाल घर फर्किन्छ । पदकको सम्भावना दुर्भाग्यपूर्णरुपमा समाप्त हुने छ ।
निस्सिनको मौसम पूर्वानुमान अनुसार मङ्गलवार पानी पर्ने सम्भावना निकै उच्च (८० देखि १०० प्रतिशत) रहेको छ। विभिन्न मौसम एजेन्सीहरूका दिनभरि बेलाबेलामा वर्षा हुने सम्भावना ८०-९८ प्रतिशतसम्म छ । केही पूर्वानुमानले ६-२० मिलिमिटरसम्म वर्षा हुनसक्ने जनाएका छन् ।
जापानको स्थानीय समय अनुसार बिहान ९ बजेका लागि तय गरिएको यो खेलको सुरुवाती समयमा पानी पर्ने सम्भावना बढी छ । यद्यपि, बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म मौसममा केही सुधार आउन सक्ने र आउटफिल्ड राम्रोसँग ओभानो बनाउन सकिएमा ओभर घटाएर (कम्तीमा १०–१० ओभरको) खेल खेलाउन सकिने आशा भने बाँकी नै छ ।
म्याच सुरु भएपछि वा केही ओभर खेलेपछि रद्द भएमा नतिजा आउन सक्छ । हालै भारत र जापानले वर्षाले प्रभावित म्याचमा ५-५ ओभर खेलेका थिए । आइसीसीको नियम अनुसार नतिजा आउनका लागि ५-५ ओभरको खेल हुनुपर्छ । अन्यता म्याच रद्द गरिने प्रावधान छ ।
नेपालले समूह चरणमा राम्रो प्रदर्शन गरेको छ । नेपालले बलियो अफगानिस्तान र आयोजक जापानमाथि प्रभावशाली जित निकाल्दै समूह विजेता बनेको थियो ।