आठ दिनसम्म खोज्दा पनि आफन्त भेटिएनन्, कुशको शव बनाएर दाहसंस्कार

 संवाददाता    २०८३, १७ भाद्र बुधबार १०:५७     49 जनाले पढ़िसके



Spread the love

भोटेकोसीको बाढीमा आफन्त बेपत्ता भएको आठ दिन बितिसक्दा पनि यथार्थ विवरण नपाएपछि रसुवा र नुवाकोटका केही परिवारले अब खोजी छाडेर अन्तिम संस्कारको तयारी गर्न थालेका छन्। उनीहरूले कुशको शव बनाएर अन्त्येष्टि सुरु गरेका हुन्।

भदौ १० गते आएको बाढीमा उनीहरू बेपत्ता भएका थिए।

आठ दिन बित्दा समेत कुनै जानकारी नआएपछि जीवित भेटिने सम्भावना नरहेको भन्दै पीडित परिवारले अन्त्येष्टिको प्रक्रिया अघि बढाएका हुन्।

बाढीले अहिलेसम्म रसुवाका दुई वडा र नुवाकोटको विदुर नगरपालिकाका सात वडाका धेरै मानिस बेपत्ता भएको पुष्टि भएको छ। कति जना अझै हराइरहेका छन् भन्ने पूर्ण विवरण भने आइसकेको छैन।

वेत्रावतीमा मात्र २४३ जना बेपत्ता
विदुर नगरपालिका-१० का अध्यक्ष गणेशकुमार नेपालका अनुसार वेत्रावती बजारमा मात्र २४३ जना बेपत्ता भएका छन्।

हराइरहेकाका आफन्तले अन्तिम संस्कार गर्ने भनेर आफूलाई जानकारी दिएको उनी बताउँछन्।

‘मेरो वडा रहेको वेत्रावतीमा रसुवाको पनि एउटा वडा पर्छ, त्यसको एक विद्यालय बगाउँदा २ सय विद्यार्थी बेपत्ता छन्, यो समेत जोड्दा २५३ को अवस्था अज्ञात छ,’ उनले नेपालखबरसँग भने, ‘मानवीय क्षतिको हिसाबमा रसुवाको सहित जोड्दा सबैभन्दा बढी मेरै १० नम्बर वडा हो।’

वेत्रावती ऐतिहासिक स्थान भएकोले पछिल्लो दिन बजार तीव्र विस्तार भएको नेपाल बताउँछन्।

बजार विस्तारसँगै यहाँ मानिसको बसोबास पनि बढेको थियो। बाढी आउँदा बजारमा कति मानिस थिए भन्ने यकिन विवरण निकाल्नसमेत अहिले कठिन भइरहेको छ।

तर बेपत्ता मानिसका परिवारले भने अब प्रतीक्षाको अर्को चरणमा प्रवेश गरेका छन्।

‘हराएका आफन्त जीवित भेट्ने सम्भावना न्यून हुँदै गएपछि काजकिरिया गर्न सुरु गर्न थाल्नुभएको छ,’ उनले थपे, ‘मैलेअन्तिम संस्कारका लागि राज्यले दिने पैसा दिन सिडिओ कार्यालयलाई खबर गरिदिएको छु। आज ८ दिनभयो अब अन्त्येष्टि थाल्नुभयो।’

वेत्रावतीमा मात्र ३१४ घरमा बाढीले क्षति पुर्‍याएको र १२ सय परिवार विस्थापित भएको उनको भनाइ छ।

भदौ १५ गते वेत्रावतीकै एक घरबाट २३ वटा शव फेला परेको थियो।

तर शव भेटिन थाले पनि बाढीपछि हराइरहेका मानिसको सम्पूर्ण विवरण अझै खुल्न सकेको छैन।

यहाँबाट हराइरहेकामध्ये कतिपय भाडामा बसेका पनि थिए। उनीहरूका आफन्तले आफ्ना मानिसको खोजी गरिरहेका छन्। तर उनीहरूको संख्या पत्ता लाग्न समय लाग्ने विदुर नगरपालिका-१० का अध्यक्ष नेपाल बताउँछन्।

यस्तै त्रिशूली र ढुङगे बजार पर्ने बिदुरकै १ नम्बर वडाका अध्यक्ष लेलिन रन्जित पनि बेपत्ताको स्थिति पत्ता नलागेपछि कुशको शव बनाएर अन्तिम संस्कारमा आफन्त जुटेको बताउँछन् ।

‘मेरो वडामा पर्ने त्रिशुली र ढुङ्गेबाट ७२ जना बाढीपछि बेपत्ता हुनुहुन्छ, अब म आफैंले उहाँका परिवारको अन्तिम संसकारको लागि पहल थालेको छु’, उनले भने, ‘भाडामा बस्ने मानिस हराइरहेको भनेर तस्बिरसहित मानिस आइरहेका छन्, संख्या अझै प्रस्ट आइसकेको छैन।’

उनको वडामा बेपत्तामध्य पनि सबैभन्दा बढी जोशी परिवारको भएको उनले बताए।

‘एउटै घरबाट ५ जना, ४ जना र कसैको २ जना बेपत्ता हुनुहुन्छ, उहाँहरुको कतिपयको त अन्तिम संस्कार गर्ने पनि छैनन होला, त्यही भएर केही दिन कुर्ने अनि सामूहिक बस्ने भन्नुभएको छु’, वडाध्यक्ष रन्जितले थपे, ‘बाकी किरिया बस्नु भयो कोहि यतै कोहि काठमाडौ।’

बाढी आउने बखत त्रिशुली र ढुङ्गे बजारमा २७ सय मानिस रहेको हुनसक्ने उनले बताए।

यति मात्र होइन, बाढीले तहसनहस पारेको बिदुरकै वडा नम्बर ५ र ७ का बेपत्ता फेला नपरेपछि काजकिरिया थालेका छन् ।

७ नम्बर वडाका अध्यक्ष रवीन्द्र नेपालक अनुसार बाढीले तीनवटा मुख्य बजार नै बगाएको बताए।

‘तुप्चे, सोले, सेतीटार र अक्करेमा ६५ जना बाढीमा हराएको पुष्टि भयो’, उनले भने, ‘सोले र सेतीटारतिरको त एउटै परिवारको ८ जना हराइरहेका छन्। त्यहाँ त थोरै मानिस जोगिए कि भन्नेछ।’

सोले कै पत्रकार निराजन पौडेलका आमा बुबा काका काकी र बहिनी गरेर ५ जना हराइरहेको बताएका छन् ।

उनले पनि आजै कुशको शव बनाएर अन्त्येष्टि गरे।

बाढीले क्षति पुर्‍याएको देवीघाटबाट १८ जना बेपत्ता भएको ५ नम्बर वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए।

उनीहरूमध्ये कतिपयका परिवारले पनि आजै अन्तिम संस्कार गर्दैछन् ।