सगरमाथा आधारशिविरको हिउँ पग्लिनुमा मानिसले गरेको पिसाब पनि जिम्मेवार भएको एक नयाँ अध्ययनले देखाएको छ। पछिल्लो समय यहाँका हिमनदी तीव्र गतिमा पग्लिँदै गएको देखिएको छ।
सगरमाथा आधार शिविरमा हरेक आरोहण अवधिमा ठूलो भिड लाग्ने गर्छ। कफी बार खुल्छन्, ठुल्ठूला स्क्रिन भएका टीभी र तीव्र गतिको वाइफाइ राखिन्छ, तातोपानीमा नुहाउने र न्यानो सुत्ने ठाउँको व्यवस्था हुन्छ। आरोही र तिनका सहयोगीगरी हजारौँ मानिस महिनौँसम्म आधारशिविरमा बस्छन्।
यस्ता गतिविधिका कारण हरेक वसन्तमा खुम्बु हिमनदीबाट ३० लाख किलो बरफ पग्लिने अध्येताहरूको अनुमान छ।
उदाहरणका लागि २०२३ मा ८२४ वटा ग्यास सिलिन्डर, १८ हजार ९३५ लिटर मट्टीतेल र ५ हजार १३० लिटर पेट्रोल १६ सय टेन्टका लागि खाना पकाउन, तताउन र बत्ती बाल्न खर्च गरिएको थियो।
यसमध्ये पनि सबैभन्दा छक्क पार्ने तथ्य के फेला परेको छ भने खुम्बु हिमनदीमा १५४ टन बरफ पगाल्न मानिसले फेर्ने पिसाब जिम्मेवार देखिएको छ।
‘धेरै पानी पिएपछि पिसाब त फेर्नुपर्यो,’ अध्ययनका मुख्य लेखक, भूवैज्ञानिक तथा नेपालका प्रमुख नापी अधिकृत खिमलाल गौतमको भनाइ द न्युयोर्क टाइम्सले उधृत गरेको छ।
हजारौँ मानिसले सो स्थानमा दैनिक ६ हजार लिटरभन्दा बढी पिसाब फेर्ने गर्छन्। आरोही र तिनका सहयोगीले दिसा ट्वाइलेटमा गर्छन् र तिनलाई डिलमुनि फ्याँकिन्छ। तर, पिसाब भने सोझै हिमनदीमाथि फेरिन्छ। जुन तलका मानिसहरूको खानेपानीको स्रोत पनि हो।
‘हामीले सालैपिच्छे बरफ गुमाइरहेका छौँ, यो कुरा बुझ्न वैज्ञानिक भइराख्नु पर्दैन,’ गौतम भन्छन्।
तथापि, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा सुदीप ठकुरी मानिसले फेरेको पिसाबको प्रभाव चिन्ताजनक भए पनि त्यसको असर आधारशिविरमा बालिने इन्धनको भन्दा कम हुने बताउँछन्।
सो अध्ययनका लागि गौतमले आधारशिविर सञ्चालकहरूबाट तथ्यांक संकलन गरेका थिए भने सहलेखिका अमेरिकी वैज्ञानिक भर्जिनिया बर्केटले स्याटलाइट विवरण संकलन गरेकी थिइन्।
जलवायु परिवर्तनका कारण हिमालयभर परिवर्तन भइरहेको छ। तथापि, सगरमाथाका हिमनदीहरूमा बरफ पग्लिने दर २००९ यता दोब्बर भएको छ। एजेन्सी