भोटेकोसीको बाढीले देखायो असाधारण वेग, प्रतिघण्टा ५५ किमि

 संवाददाता    २०८३, ११ भाद्र बिहीबार ११:१६     31 जनाले पढ़िसके



Spread the love

रसुवास्थित भोटेकोसीमा बुधबार (भदौ १० गते) बिहान आएको बाढीको गति हालसम्मकै तीव्र रहेको पाइएको छ।

बुधबार बिहान ८:४० बजे रसुवाको टिमुरे बजार निमेषभरमै बगाएको बाढी चितवनसम्म पुगेको थियो।

जसमा परी अहिलेसम्म १६५ जनाको मृत्यु पुष्टि भइसकेको छ भने कम्तीमा हजार जना सम्पर्कविहीन भएका छन्। खर्बौंको भौतिक संरचना ध्वस्त पारेको छ।

त्यस्तो विनाशकारी बाढीको गति कति थियो त?

प्रारम्भिक विवरण अनुसार रसुवागढीबाट १३ किलोमिटर दुरीमा रहेको स्याफ्रुबेँसी जम्मा १५ मिनेटमा पुगेर बगाएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए।

उनका अनुसार यो ‘महारौद्र गति’ हो।

भीषण बाढीको बहाब पनि प्रतिसेकेन्ड ५ मिटरभन्दा बढी गति हुँदैन। त्यसलाई नै मौसमविदले खतरनाक भन्ने गरेका छन्।

तर रसुवाको टिमुरे र स्याफ्रुबेँसीमा झण्डै मिटर प्रतिसेकेन्डको गति मापन भएको उनले बताए।

‘यो भनेको प्रतिघण्टा ५४ देखि ५५ किलोमिटरको वेग हो। जुन ठाडो खोलाका लागि निकै खतरनाक, विनाशकारी र भयानक हो’, उनले भने।

विज्ञहरू नदीमा बाढीको गति ५ मिटरमाथि हुनुलाई नै अत्यन्त खतरनाक मान्ने गर्छन्।

तर तिब्बतबाट ल्हेन्दे खोला र कुरुङ हुँदै भोटेकोसीमा आएको बाढीको गति ज्यादै तीव्र देखिन्छ। जसले रसुवाका टिमुरे, नदी किनारबाट झन्डै ३ फिटको दुरीमा रहेको स्याफ्रुबेँसी बगाएको छ।

यस्तै स्याफ्रुबेँसीबाट ३१ किलोमिटर दुरीमा रहेको रसुवाकै बेत्रावती पुग्न नदीले ४० मिनेट लगाएको छ र नदीको गति १२.९२ मिटर देखिन्छ। जुन ४६.५ किलोमीटर प्रतिघण्टाको गति हो। भोटेकोसीले बेत्रावतीको बजार र बस्ती सखाप पारेको छ।

बेत्रावतीबाट ४७ किलोमीटर दुरीमा रहेको धादिङ फुर्केखोला पुग्दा नदीको गति आधा कम भएको कायस्थ बताउँछन्।

त्यहाँ पुग्दा नदीको गति ५.६० मिटर भएको देखिन्छ, उनले थपे, भोटेकोसी त्रिशूली नदीमा मिसिएपछि बेग बढेको छैन।

फुर्केखोला हुँदै काली खोलामा पुग्दा वेग अझै घटेको देखिएको मौसम विज्ञान विभागका सूचना अधिकारी कायस्थले बताए।

‘त्यो ४० किलोमिटरको दुरीमा नदीको गति ४.१७ मिटर देखिन्छ, तर कालीखोलाबाट देवघाट पुग्दा भने गति बढेर ५ मिटर गति अर्थात् प्रतिघण्टा १८ किलोमिटर पुगेको देखिन्छ, जबकि कालीखोलादेखि चितवनको देवघाटसम्मको दुरी ३० किलोमिटर छ’, उनले भने।

उनका अनुसार ८:४० मा रसुवाको टिमुरेबजार बगाएको बढीले तीन घण्टामै चार जिल्लाका नदी तटीय बस्ती उजाड बनाएको छ।

रसुवागढी-टिमुरे क्षेत्र, भन्सार, अध्यागमन, प्रहरी चौकी, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा ठुलो क्षति गरेको बाढीले स्याफ्रुबेँसी बजार र १८ किलोमिटर सडक बाढीले बगाएको छ।

बेत्रावती, मैलुङ, सल्लेटार, शान्तिबजार, पैरेबेँसी, खाल्टीबस्ती, सोले, त्रिशूली, बट्टारलगायत नदी किनारका बस्ती बगाएको र डुबाएको छ।

नुवाकोट हुँदै त्रिशूली नदीतिर बाढी पुगेपछि तुप्चे, ढुंगे, त्रिशूली बजार र देवीघाट क्षेत्रसम्म ठुलो क्षति पुगेको छ।

धादिङतर्फ त्रिशूलीको बाढीले फुर्केखोला र घाटबेँसीका पुल बगाएको छ।

कायस्थले यस्तो बाढी विगतको रेकर्डमा नदेखिएको बताए।

‘हिजोको बाढीको रसुवागढीमा १५ मिटर र देवघाट पुग्दा ५ मिटर भएको देखिन्छ’, उनी भन्छन्, ‘सम्भवत: यस्तो गतिको बहाब अहिलेसम्म नदेखिएको हुन सक्छ।’