रसुवा बाढीका शव भेटिएकै स्थानमा राखिने, मृतक–बेपत्ताको खोजी तीव्र

 संवाददाता    २०८३, ११ भाद्र बिहीबार १२:१९     32 जनाले पढ़िसके



Spread the love

बुधबार बिहान रसुवा बाढीमा निधन हुने मानिसको शव जहाँ भेटियो त्यहीँ राखिने र नेपाल प्रहरीको डेडिकेटेड टोलीले शव पहिचान र हस्तान्तरणको काम गर्ने गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले उद्धार सहजीकरण तथा शव पहिचानका लागि नेपाल प्रहरीबाट डीआईजी नेतृत्वको टोलीले काम गरिरहेको बताएका छन् ।

त्यससँगै नेपाल रेडक्रस सोसाइटीले शव राख्ने ब्यागको व्यवस्था गरेको छ । फेला परेका शवलाई ती ब्यागमा राख्ने काम अब सुरु हुने उनले बताए ।

शव र बेपत्ताको जानकारी कसरी पाउने ?

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार बाढीमा सम्पर्कविहीन भएका मानिसका आफन्तले प्रहरी टोलीसँग समन्वय गर्नुपर्ने बताएका छन् ।

बाढी प्रभावित क्षेत्रमा गएको र हालसम्म सम्पर्कमा नआएका व्यक्तिका आफन्तले आफू रहेकै जिल्लास्थित जिल्ला प्रहरी कार्यालयमा आफन्तको हुलियासहित निवेदन दिनुपर्ने उनले बताए ।

विदेशी नागरिक भए सम्बन्धित देशमै त्यहाँस्थित नेपाली दूतावास वा नेपालमा रहेको उक्त देशको दूतावासलाई हुलियासहितको जानकारी दिनुपर्ने छ ।

विभिन्न जिल्ला वा देशबाहिरबाट प्राप्त भएका निवेदन र हुलियालाई प्रहरी प्रधान कार्यालयमा ‘सेन्ट्रल कलेक्सन’ गरिने भएको छ । उक्त कार्यको समन्वय गर्न केन्द्रीय प्रहरीले डीआईजी सुदर्शनप्रसाद कोइरालाको संयोजकत्वमा आपत्कालीन समन्वय केन्द्र स्थापना गरेको छ ।

उक्त केन्द्रले हराएका मानिसमध्ये कसैको कुनै अस्पतालमा उपचार भइरहेको वा निधन भएको भए हुलियाका आधारमा पहिचान गरी आफन्तलाई सम्पर्क गर्नेछ । पहिचान हुन नसकेका घाइते र मृतकहरूको हुलिया खुल्ने तस्बिर प्रहरीले आफ्नो वेबसाइटमा हाल्ने तयारी गरिरहेको प्रवक्ता काफ्लेले बताए ।

उनले भने, ‘वेबसाइटमा घाइते वा शवको फोटो हेरेर कसैले उक्त व्यक्ति आफ्नो मान्छेको हो भन्ने लागेमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दाबी पेश गर्नुपर्छ, दाबीबमोजिम आफन्तकै शव हो भन्ने खुलेपछि शव भएकै ठाउँमा गएर आफन्तले शव बुझ्न सक्ने व्यवस्था मिलाएका छौँ ।’

विभिन्न जिल्लामा फेला परेका शव अहिले नै एकै ठाउँमा ल्याउने कुरा प्राविधिक दृष्टिले असम्भव र व्यवस्थापन कार्य असहज हुने उनले बताए । जति वटा शव पहिचान हुन्छन्, ती शव आफन्तहरूलाई अहिले राखिएकै ठाउँबाट जिम्मा लगाउने र पहिचान खुल्न नसकेका शवलाई भने केही दिनपछि काठमाडौं ल्याइने उनले बताए ।

‘सकेसम्म अहिले जहाँ–जहाँ शव फेला परेर राखिएको छ, त्यहीँ–त्यहीँबाट आफन्तले लैजानुहुन्छ भन्ने चाहेका छौँ, शवको पहिचानलगायत अरु किसिमका जटिलता भएमा पछि काठमाडौं ल्याएर एकै ठाउँमा राखेर प्रक्रियाअनुसार शव हस्तान्तरण हुन्छ’, उनले भने ।