रास्वपा बैठकमा उम्मेदवार छनोट र मनोनयन प्रक्रियाबारे छलफल हुँदै

 संवाददाता    २०८३, ५ भाद्र शुक्रबार १२:५२     21 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ ।

वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बसिरहेको बैठकमा आगामी स्थानीय तहको निर्वाचन र पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणलाई केन्द्रमा राखेर कार्यसूचीहरू तय गरिएका छन् ।
बैठकको मुख्य कार्यसूचीमा आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने विषय रहेको छ । रास्वपाले निर्वाचनमा उम्मेदवार तय गर्दा अपनाइने विधि र प्रक्रियालाई यसै बैठकमार्फत अन्तिम रूप दिने तयारी गरेको छ ।
यस्तै, रास्वपाले आफ्नो स्थापनाकालदेखि नै उठाउँदै आएको ‘राइट टु रिकल’ (जनप्रतिनिधि फिर्ता बोलाउन पाउने अधिकार) सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयलाई पनि कार्यसूचीमा राखेको छ ।

यसलाई कार्यान्वयनमा लैजान कानुनी र राजनीतिक खाका तयार पार्ने पार्टीको योजना छ ।

बैठकले पार्टीका रिक्त रहेका र थप गर्नुपर्ने विभिन्न साङ्गठनिक पदहरूमा मनोनयन गर्ने कार्यसूची तय गरेको छ ।

जसमा केन्द्रीय समिति सदस्य र पदाधिकारीहरूको मनोनयन, सचिवालय सदस्यहरूको मनोनयन, विभिन्न विभागीय प्रमुखहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिको गठन र सदस्य मनोनयन रहेका छन् ।

पार्टीले स्थानीय तहमा उम्मेदवार छनोटको विधिबारे कार्यकर्ताहरूलाई स्पष्ट पार्न केन्द्रीय सदस्य र सांसदहरूको नेतृत्वमा देशव्यापी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

पार्टीको आधिकारिक धारणा र गतिविधिहरू सार्वजनिक गर्न ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय पनि हुने बताइएको छ ।