‘घरभित्रका विमति आफैँ समाधान गरौँ, अदालतको ढोका नकुरौँ’ : प्रदीप पौडेल

 संवाददाता    २०८३, ५ भाद्र शुक्रबार १२:५६     23 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रका विमतिलाई सडक वा अदालतमा लग्न नहुने बताएका छन्।

अदालतमा मुद्दा विचाराधीन भएकाले १५औं महाधिवेशनसँग सम्बन्धित गतिविधि रोक्न माग गर्दै शुक्रबार कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक साभपति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा निवेदन दिने तयारी गरेका छन्। यसै सन्दर्भमा महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीभित्रको विवाद अदालतमा लग्न नहुने तर्क गरेका हुन्। ‘हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन,’ पौडेलले लेखेका छन्, ‘मलाई लाग्छ, नेपाली कांग्रेसको विवाद अदालतले निरुपण गर्ने विषय होइन र हुनुहुँदैन। राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ।’

आन्तरिक विवाद संवादबाटै समाधान गर्नुपर्नेमा उनले जोड दिएका छन्। ‘म सबै असन्तुष्ट श्रद्धेय नेता, जुझारु कार्यकर्ता र आत्मीय शुभेच्छुक साथीहरूलाई नम्रताका साथ अनुरोध गर्न चाहन्छु की आफ्नो फरक विचारलाई बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस्,’ पौडेलले भनेका छन्, ‘यो तपाईं हामीले निर्माण गरेको लोकतन्त्रको पवित्र मन्दिर हो।’

विगतका कमजोरीको समीक्षा गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ। त्यसका लागि सामूहिक जिम्मेवारी लिनुपर्ने उनले जनाएका छन्।

‘सानेपामा बसेर मनैदेखि संवाद गरौं। विगतका कमजोरीहरूमा हामी सबैको सामूहिक जिम्मेवारी छ, त्यसलाई पनि आत्मसात् गर्दै अघि बढौँ,’ उनले भनेका छन्, ‘आगामी १५औं महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गरी आम कार्यकर्ताले सुम्पिने नेतृत्वलाई स्वीकार गरौं र लोकतन्त्रलाई थप सुदृढ बनाउने बाटोमा एकजुट भएर लागौं।’