‘मुद्दा हाल्नुस्, कठघरामा उभिएर जवाफ दिन तयार छु’– आईजीपीलाई सांसद सुनार

 संवाददाता    २०८३, ४ भाद्र बिहीबार १२:२१     22 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई मुद्दा हाल्न चुनौती दिएका छन्।

बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले आफ्नो प्रश्नमा अडिग गरेको बताएका छन्। यसअघि सार्वजनिक लेखा समितिको बैठकमा आईजीपी कार्कीविरुद्ध उजुरी परेकाले छानबिन गर्नुपर्ने विचार राखेका थिए।

त्यसलाई लिएर चर्को आलोचना भएको थियो। त्यस विषयमा आईजीपी कार्कीले गृहमन्त्री सुधन गुरुङ र सभामुख डोलप्रसाद अर्याललाई समेत भेटेका थिए।

बिहीबारको बैठकमा सांसद सुनारले त्यही विषयलाई फेरि उठाएका हुन्। ‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन?’ सांसद सुनारले भने, ‘फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ।’

उनले प्रहरी मुख्यालयलाई विचौलियाले कब्जा गरेको जिकिर गरे। ‘निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्,’ सांसद सुनारले भने।

यसअघिको बैठकमा आफूले सोधेको प्रश्नमा अडिग रहेको बताउँदै छानबिन गर्नुपर्नेमा जोड दिए। ‘अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु,’ उनले भने।

आफूले कसैको मानमर्दन नगरेको प्रस्टीकरण दिए। यदि कसैलाई मानमर्दन भएको लागेमा मुद्दा हाल्न चुनौती दिए।

‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला,’ सांसद सुनारले भने, ‘कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु।’

उनले संसदीय समितिमा आएर सांसदसँग जुहारी खेल्न नहुने सुनाए। ‘एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन,’ सांसद सुनारले भने।